काठमाडौं । सिराहा प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल गृह मन्त्रालय तानिएका छन् । दाहाललाई मन्त्रालय तानेर उनको स्थानमा कपिलबस्तुका प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्याललाई पठाइएको छ ।
महायज्ञ गर्न भन्दै एक दलित परिवारलाई हटाएको विषय सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी दाहाललाई मन्त्रालय तानिएको बताइएको छ ।
बिहीबार बैठकमा सांसदहरूले सिरहाको औरही–५ का दीपक मलिक डोमको घर महायज्ञ गर्न भन्दै भत्काइएकामा सांसदहरूले आपत्ति जनाएका थिए । सांसदहरुले गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोमको घर भत्काएको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले दोषीलाई कारवाही गर्न र पीडित परिवारलाई न्याय दिन माग गरेका थिए ।
गृहमन्त्री रमेश लेखकले महायज्ञ गर्न दलित परिवारलाई हटाएको भन्नेबारे विषयमा सत्यतथ्य र स्वतन्त्र छानबिन गर्न प्रहरीलाई निर्देशन समेत दिएको बताइएको छ ।
सिरहाको औरही गाउँपालिका–५ मा हुन लागेको महायज्ञका लागि डोम परिवारको घर भत्काइएको र दलित भन्दै त्यहाँको २ फिट माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ ।
यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो । दीपककी श्रीमती अनिता मरिक (डोम)ले महायज्ञ स्थलमा दलित परिवार बस्न नहुने भन्दै आफूहरुको घर भत्काइएको बताएकी छिन् ।
जनता आवास योजना अन्तर्गत उनीहरुका लागि दुईकोठे पक्की घर पनि बनाइदिएको थियो । अहिले त्यही पक्की घर भत्काइएपछि डोम परिवार सुन्दर जनता मावि औरहीको दुई धुर जग्गामा फुसको घरमा सर्न बाध्य भएको छ ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयले बताएका छन् ।
चार दिनअघि मात्रै छोरा अर्जुनको विवाह गरेर बुहारी भित्राएको अनिताको परिवार अहिले समस्यामा परेको छ । हतारमा घर भत्काउँदा घरभित्र भएका केही सामान समेत झिक्न नपाएको पीडित परिवारको भनाइ छ ।
दीपक र अनिताको सात जनाको परिवार छ । परिवारमा १७ वर्षीय छोरा अर्जुन, नवविवाहिता बुहारी, १३ वर्षीया छोरी किरण कुमारी, १० वर्षीया छोरी प्रीति, र ७ वर्षीय छोरा आकाश मरिक छन् ।
विद्यालयको जग्गामा एकान्तमा सर्नुपरेकाले बिजुली, खानेपानी लगायत आधारभूत सुविधाको समस्या भएको उनले बताइन् । विद्यालयको जग्गाबाट पनि लखेटिनुपर्ने हो कि भन्ने चिन्ताले सताइरहेको बताएका छन् ।