विराटनगर । कोशी प्रदेशसभाको चालु तथा छैटौं अधिवेशन अन्त्य भएको छ । एक्कासि अधिवेशन अन्त्य गरेको भन्दै नेकपा माओवादी केन्द्र संसदीय दलले आपत्ति जनाएको छ ।
प्रदेश मन्त्रिपरिषद्ले सिफारिस गरेपछि प्रदेश प्रमुख पर्शुराम खापुङले गएराति १२ बजेदेखि अधिवेशन अन्त्य गरेका हुन् ।
सरकारको अक्षमताको विषयमा सार्वजनिक आलोचना हुने भएपछि अधिवेशन अन्त्य गरेको माओवादी केन्द्रको आरोप छ ।
माओवादी संसदीय दलले विज्ञप्ति जारी गरेर सरकारको कामकारबाहीप्रति जनस्तरमा असन्तुष्टि बढिरहेका बेला प्रदेशसभा सदस्यहरूले उठाएका गम्भीर प्रश्नहरूलाई वेवास्ता गर्दै अधिवेशन अन्त्य गर्नु अत्यन्त आपत्तिजनक भएको जनाइएको छ ।
उता सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी भने बजेट निर्माणमा केन्द्रित हुनुपर्ने समय आएकाले अधिवेशन अन्त्य गरेको बताएका छन् ।
प्रदेश सरकारले बजेट निर्माणका लागि छलफल चलाइरहेको र तत्काल बैठक बस्ने अवस्था नरहेकाले अन्त्य गरिएको बताउँदै भण्डारीले बर्खे अधिवेशन चाडै बोलाउने बताएका छन् ।


























