काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे जर्मनी, फ्रान्स, थाइल्यान्ड र कम्बोडियाको औपचारिक भ्रमण पूरा गरी बुधबार राति स्वदेश फर्किएका छन् ।
भ्रमणका क्रममा उनी नेतृत्वको टोलीले सम्बन्धित मुलुकका उच्च अधिकारीहरूसँग भेटवार्ता गरी पर्यटन प्रवर्द्धन, संस्कृति आदानप्रदान, हवाई सेवा विस्तार, जर्मनीमा रहेका ऐतिहासिक हस्तलिखित ग्रन्थ फिर्ता ल्याउने तथा धार्मिक पर्यटन सञ्जाल निर्माण लगायत विषयमा छलफल गरेको पर्यटन मन्त्रालयले जनाएको छ ।
मन्त्री पाण्डेलाई बर्लिनमा प्यासिफिक एरिया ट्राभल राइटर्स एसोसिएसन (पाटवा) ले आयोजना गरेको ‘वल्र्ड टुरिजम एन्ड एभिएसन समिट’ हिमालयन क्षेत्रबाट ‘टुरिजम मिनिस्टर अफ द एयर’ अवार्ड प्रदान गरिएको थियो । भ्रमणका क्रममा उनले नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यसहित विभिन्न साझेदारहरूसँग द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गरेका थिए ।
मन्त्री पाण्डेले जर्मनी र फ्रान्समा पर्यटन व्यवसायी, लगानीकर्ता तथा नेपाली समुदायसँग भेटघाट गरी नेपालमा पर्यटन पूर्वाधार तथा लगानी सम्भावनाबारे जानकारी गराएका थिए । यस्तै, थाइल्यान्ड र कम्बोडियामा धार्मिक तथा सांस्कृतिक पर्यटन प्रवर्द्धनका विषयमा छलफल गर्दै यी मुलुकहरूसँग आपसी सहकार्य विस्तार गर्न उनले पहल गरेका थिए । पर्यटन मन्त्री पाण्डेले जर्मनी भ्रमणका क्रममा हाइडेलबर्ग स्थित सेन्टर फर एसिया एन्ड टान्स कल्चर स्टडिजद्वारा आयोजित कार्यक्रममा नेपाल सरकार सांस्कृतिक सम्पदाको पुनःस्थापना सम्बन्धी स्पष्ट नीति निर्माणको प्रक्रियामा रहेको जानकारी गराएको उनको सचिवालयले जनाएको छ ।
मन्त्री पाण्डेले जर्मनीमा सुरक्षित राखिएका नेपालका प्राचीन ग्रन्थ तथा लिखित सम्पदाको संरक्षणप्रति खुसी व्यक्त गर्दै तिनलाई नेपाल फर्काउने प्रक्रियामा सहकार्यका लागि आह्वान गरेका छन् । नेपालका लिखित तथा विविध सम्पदाको संरक्षणका लागि जर्मनीका विश्वविद्यालयहरूसँग नेपाल सरकारको सहकार्य रहेको र आगामी दिनमा पनि साझेदारी विस्तार गरिने मन्त्री पाण्डेले बताए । जर्मनीका लागि नेपाली राजदूत डा. शैल रूपाखेतीले जर्मनीमा रहेका महत्वपूर्ण पाण्डुलिपिहरू तथा अन्य सम्पदा नेपाल फर्काउने प्रक्रियामा सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी फ्रान्सको पेरिसस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल इभिनिङ’ कार्यक्रममा मन्त्री पाण्डेले फ्रान्सेली नागरिकलाई नेपाल भ्रमणको निम्तो दिएका थिए । उनले कम्बोडियाका पर्यटन मन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग भएको भेटका क्रममा नेपाल र कम्बोडियाबीच धार्मिक पर्यटकीय सञ्जाल निर्माण, सिधा हवाई उडान, बृहत्तर बुद्ध सर्किट निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेको पनि मन्त्रालयले जनाएको छ । (रासस)

























