पर्वत । आर्थिक मन्दी, बढ्दो पलायनदर, र आयातित वस्तुसँग प्रतिस्पर्धा गर्न नसक्दा पर्वतमा उद्योग व्यवसाय धराशायी हुने क्रम बढ्दो छ । चालु आर्थिक वर्षको पहिलो छ महिनामा मात्रै १३३ उद्योगको दर्ता खारेज गरिएको छ ।
पर्यटन तथा उद्योग कार्यालयका अनुसार, आर्थिक वर्ष २०८०/८१ मा २३६ उद्योग बन्द भएका थिए भने चालु आवको पहिलो छ महिनामा मात्रै ती उद्योगको दर्ता खारेज गरिएको छ। यस वर्ष ९९ नयाँ उद्योग दर्ता भए पनि बन्द हुने उद्योगहरूको संख्या उल्लेखनीय रूपमा उच्च रहेको छ ।
कार्यालय प्रमुख पोषनाथ शर्माका अनुसार, ६४ उद्योग र ६९ वाणिज्य फर्म खारेज भएका छन्, जबकि ४९ उद्योग र ५० वाणिज्य फर्म मात्रै नयाँ दर्ता भएका छन् । उद्योग व्यवसाय छाडेर विदेशिने क्रम तीव्र हुँदा बजार क्षेत्रमा २० प्रतिशतभन्दा बढी सटर खाली रहेको उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरबी पौडेल बताउँछन् ।
औद्योगिक संख्यामा भारी गिरावट
आ.व. २०८०/८१ को अन्त्यमा ३,४१३ उद्योग कायम रहेका थिए, जुन अहिले घटेर ३,३९० मा पुगेको छ। त्यस्तै, वाणिज्य फर्मको संख्या ३,२४७ बाट घटेर ३,१३५ मा झरेको छ । कार्यालयका अनुसार, ६ महिनामा मात्रै १३५ उद्योग व्यवसाय बन्द भएका छन् ।
कार्यालय प्रमुख शर्माका अनुसार, विदेश पलायन, बजार अभाव, र आयातित वस्तुहरूसँग प्रतिस्पर्धा गर्न नसक्दा उद्योगहरू धरासायी बन्दै गएका छन् ।
सरकारको नीति प्रभावहीन
सरकारले बेरोजगारी समस्या समाधानका लागि उद्योग व्यवसाय प्रोत्साहन कार्यक्रम अघि सारे पनि उद्योग दर्ताको अनुपातमा बन्द हुने क्रम नरोकिएको व्यवसायीहरू बताउँछन् । व्यवसायीहरूका अनुसार, उद्योग खोल्नेहरू मध्ये धेरैले विदेशी अध्ययन तथा रोजगारीका लागि मात्र प्रमाणको रूपमा उद्योग दर्ता गर्ने प्रवृत्ति बढेको देखिएको छ ।
स्थानीय तहबाट पनि उद्योग दर्ता प्रक्रिया सुरु भएपछि व्यवसायीहरू अलमलमा परेको पर्यटन तथा उद्योग कार्यालयले जनाएको छ । चालु आर्थिक वर्षमा कार्यालयले रु २८.६६ लाख राजस्व संकलन गरिसकेको छ भने, ४२ पर्यटन पूर्वाधार योजनामध्ये ३६ वटा सम्झौता भइसकेका छन् ।
उद्योगी तथा व्यवसायीहरूलाई आवश्यक सहयोग र अनुकूल वातावरण नबने पर्वतमा उद्योग व्यवसायको संख्या अझै घट्न सक्ने संकेत देखिएको छ । – रासस

























