काठमाडौं । प्रहरी महानिरीक्षक दीपक थापाले आज अपराह्नदेखि कार्यभार सम्हालेका छन् । पद बहालीसँगै उनले मुलुकको शान्तिसुरक्षा आफ्नो प्रमुख प्राथमिकता भएको स्पष्ट पारेका छन् ।
मन्त्रिपरिषद्को सोमबारको निर्णयअनुसार उक्त पदमा पदोन्नति भएका उनलाई आजै गृहसचिव गोकर्णमणि दुवाडीले दर्ज्यानी चिह्नबाट सुशोभन गरेका थिए ।
त्यस अवसरमा गृहसचिव दुवाडीले गौरवशाली संगठनको प्रमुखजस्तो गरिमामय पद प्राप्त गरेकोमा प्रहरी महानिरीक्षक थापालाई हार्दिक बधाई तथा सफल कार्यकालको कामना गरे ।
सो अवसरमा सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक हुतराज थापा, प्रहरी अतिरिक्त महानिरीक्षक, गृह मन्त्रालयका उच्चपदस्थ अधिकारी, प्रहरी नायब महानिरीक्षक एवं सञ्चारकर्मीहरूको उपस्थिति थियो ।
पद बहालीपछि महानिरीक्षक थापाले नेपाल प्रहरीको श्रीवृद्धिका साथै मुलुकमा शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्नु आफ्नो उद्देश्य भएको बताउँदै त्यसलाई साकार तुल्याउन संगठनका सबैबाट योगदान हुने विश्वास व्यक्त गरे ।
पद बहालीअघि उनले नेपाल प्रहरी प्रधान कार्यालयपरिसरस्थित अमर प्रहरी स्मारकमा पुष्पहार चढाई अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै कार्यालयपरिसरमा निमको बिरुवा रोपे ।