काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक दीपक थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ । गृह मन्त्रालयमा मंगलबार बिहान आयोजित विशेष समारोहमा गृहसचिव गोकर्णमणि दुवाडीले थापालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यसअघिका महानिरीक्षक वसन्तबहादुर कुँवरको ३० वर्षे सेवाअवधि सोमबार राति १२ बजेबाट सकिने भएपछि सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औँ आईजीपीमा नियुक्त (वढुवा) गरेको थियो ।
थापा प्रहरी महानिरीक्षकमा नियुक्त भएसँगै दोस्रो र तेस्रो वरीयताका एआईजीहरू क्रमशः सुदीप गिरी र टेकबहादुर तामाङ अब एआईजीबाटै भएका बिदा हुनेछन् । थापा, गिरी र तामाङले १९ भदौ २०५२ मा प्रहरी निरीक्षक (इन्स्पेक्टर) दर्जाबाट एकसाथ प्रहरी सेवामा प्रवेश गरेका थिए ।
प्रहरी नियमावलीअनुसार थापा आगामी १८ भदौसम्म प्रहरी नेतृत्वमा रहनेछन् । यदि संसद्मा विचाराधिक प्रहरी ऐनको प्रस्तावित विधेयक यसअघि नै पारित भए थापाको सेवा अवधि लम्बिन सक्नेछ ।
थापा २०२८ साल मंसिर ८ गते भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ सिपाडोलमा जन्मिएका हुन् । उनले कानूनमा एलएलबी, राजनीतिशास्त्रमा स्नातकोत्तर, जनप्रशासनमा एमपीएको अध्ययन गरेका छन् ।
थापा प्रहरी सेवामा प्रवेश गर्नुअघि शिक्षण पेशामा संलग्न थिए । उनले आईए पास गर्ने बित्तिकै निजी विद्यालयमा अध्यापन गराउन थालेका थिए । २०४८ सालमा उनले शिक्षा सेवा आयोगको परीक्षा दिए र निमावि शिक्षकमा नाम निकालेका थिए ।
भक्तपुर क्याम्पसमा बीए अन्तिम वर्ष पढ्दैगर्दा उनले कन्या मावि, भक्तपुरमा पढाउन थालिसकेका थिए । पछि १० मंसिर २०५० मा प्रहरी निरीक्षकमा आवेदन खुलेका बेला उनले दर्खास्त दिएका थिए ।
उनले आईए र बीए दुवैमा भक्तपुर क्याम्पस टप गरेका थिए । २०५० सालमा हालका आईजीपी वसन्त कुँवरले पनि सोही दर्खास्तमा आवेदन दिएका थिए ।
तर, तत्कालीन सरकारले सर्टलिस्टमा परेका पहिलो समूहका ६० जनामध्ये ५२ जनालाई मात्र नियुक्ति दिए । बाँकी रहेका ८ जनाले ६ महिनापछि १९ भदौ २०५२ मा नियुक्ति पत्र बुझ्दा थापालाई कुँवरको बिदाइ गर्ने अवसर जुरेको छ ।
प्रहरी सेवामा प्रवेश गरेपछि उनले इलाका प्रहरी कार्यालय, साँगा, बुटवल र रौतहटको गरुढामा नेतृत्व गर्ने अवसर पाएका छन् ।
प्रहरी वृत्त, महाराजगञ्जको पनि प्रमुख रही सकेका छन् भने उनले जिल्ला प्रहरी कार्यालय, रुकुम, खोटाङ, सुनसरी, मोरङ, मकवानपुर र चितवनको पनि कमाण्ड गरेका छन् ।
बुटवल तालिम केन्द्र र प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगञ्जमा समेत काम गरिसकेका थापाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको सुर्खेत र बुटवल कार्यालयको प्रमुख भएर समेत काम गरेका थिए ।
एसएसपी छँदा उनले उपत्यका अपराध अनुसन्धान कार्यालयको नेतृत्व गरेका छन् भने डीआईजी छँदा बागमती प्रदेश प्रहरीको नेतृत्व गरेका थिए । एआईजीमा वढुवा भएपछि प्रबन्ध निर्देशनालय, प्रशासन विभाग, उपत्यका प्रहरी कार्यालयको समेत उनले नेतृत्व गरेका थिए ।