काठमाडौं । काठमाडौं र पोखरालगायतका शहरमा हजारौ जनताले राजतन्त्रको पक्षमा प्रदर्शन गरेपछि उत्साहित भएका पूर्वराजा ज्ञानेन्द्र शाहले गुप्त रणनीति बनाइरहेको हल्ला राजतन्त्रवादीदेखि गणतन्त्रवादीसम्म चर्चा छ ।
पूर्वराजा ज्ञानेन्द्रले राजतन्त्र समर्थकहरुलाई नवराज सुवेदीलाई सर्वमान्य नेता मानेर काम गर्न केशरबहादुर बिष्ट, कमल थापा, राजेन्द्र लिङदेनलगायतका राजावादी समूहका नाइकेहरुलाई चेतावनी सहित निर्देशन दिएको बुझिएको छ ।
पूर्वराजा ज्ञानेन्द्रको समर्थनमा भएको स्वागत प्रदर्शनको जस लिन राप्रपा, राप्रपा नेपाल, दुर्गा प्रसाईको मातृभूमि बचाउ महाअभियानलगायतले होडवाजी गरिरहेका छन् । स्वागत प्रदर्शनमा भएको क्षति र फोहोर मैला बापतको एक लाख जरिवाना काठमाडौं महानगरपालिकालाई हतारहतार तिरेर राप्रपाले सो प्रदर्शनको जिम्मेवारी जस लिने खोजेको छ भने दुर्गा प्रसाईले पत्रकार सम्मेलन नै गरेर सबै माहोल र जनसहभागिता आफूले जुटाएपछि राप्रपाहरु मिसिन आएको आरोप लगाए ।
राजतन्त्र समर्थनमा भएको आन्दोलनको जस लिन कथित राजावादीहरुका अगुवाबीचमै होडबाजी र आरोपप्रत्यरोप भएको थाहा पाएपछि केही दिन अघि पूर्वराजा शाहले आफ्नो निवासमा बोलाएर सुवेदीलाई कमान्डर मानेर रणनीति बनाउन निर्देशन दिएको शाहनिकट स्रोतले जनाएको छ । सुवेदीको सक्रियता र अगुवाइमा राजतन्त्रवादी नेताहरुबीच छलफल पनि भइरहेको बताइएको छ ।
शाहको गण्डकी प्रदेशको भ्रमणमा देखिएको जनसमर्थन र काठमाडौंमा भएको प्रदर्शनप्रति विदेशी सञ्चारमाध्यमले दिएको प्रथमिकता, सामाजिक सञ्चालबाट प्राप्त समर्थन र गणतन्त्रवादी अर्थात विशेष गरेर माओवादीको त्रासदीपूर्ण समर्थनले फागुन २५ गतेको परीक्षण प्रदर्शन सफल भएको विश्लेषण गर्दै अब रणनीति बनाएर अघि बढ्दा राजतन्त्र फर्काउन सकिने सपना शाहले देख्न थालेको राजनीतिक विश्लेषकहरुको टिप्पणी छ ।
आफूलाई गणतन्त्रको पिता ठान्ने माओवादीले हुलाकी राजमार्ग अभियान स्थगित गरेर राजधानी फर्किएर आपतकालिन वैठक बसेर राजावादीहरु व्यवस्थित र रणनीति अनुसार अघि बढेको निचोड निकाल्दै प्रतिवाद नगरे उपलव्धी गुम्ने खतरा छ भन्दै जनतामा मनोवैज्ञानिक त्रासको पैदा गराउनु र प्रचण्डले संसदमा सम्वोधन गर्दै ज्ञानेन्द्र शाहहरुलाई पनि आफूहरुलाई जत्तिकै अधिकार रहेको र पूर्वराजाको समर्थनमा प्रदर्शन गर्नेहरु नेपाली जनता नै हुन भन्ने हेक्का सरकारले राख्नु पर्ने बताउनु, वर्तमान सरकारले केही नै गरेन, भ्रष्टाचार मात्रै गर्यो, अब जनताले छाड्दैनन्, जनताले विकल्प खोज्छन् भन्दै दिएको अभिव्यक्तिप्रति कांग्रेस–एमालेका नेताहरु सशंकित बनेका छन् । नेकपा एमालेका नेता गोकर्ण विष्टले गणतन्त्रवादी शक्तिहरू एउटै डुङ्गामा यात्रा गरिरहेकाले डुङ्गा डुब्दा अन्य दल मात्र होइन माओवादी पनि डुब्छ भन्ने कुरा ख्याल गर्न प्रचण्डलाई चेतावनी दिएका थिए ।
प्रचण्डले आफू ७ महिनाअघि सत्तामा हुँदा रामराज्य आएको र अहिले रावण राज्य आयो भन्ने खालको अभिव्यक्ति दिएको वताउँदै विष्टले प्रचण्डको अभिव्यक्तिले गणतन्त्रलाई कमजोर बनाउन चाहने शक्तिलाई नै बल पुगेको र पुर्वराजा र उनका समर्थकहरु सलबलाएको हुन सक्ने आशङ्का व्यक्त गरेका थिए । ‘पूर्वराजाको जुन प्रकारको हौसला देखिएको छ, कतै उहाँ (प्रचण्ड)का यस्तै गैरजिम्मेवार अभिव्यक्ति कारक त होइनन् ?’ विष्टले भने ।
सरकारले सुशासन र आर्थिक संवृद्धिका लागि गरेका प्रयत्नलाई गैरसंवैधानिक भनेर बारम्बार लाञ्छित गरेको प्रति विष्टले प्रचण्डको आलोचना गरेका छन् ।
माओवादी अर्थात प्रतिपक्षी दलहरुले सरकारले गरेका राम्रा कामलाई समेत ओझेलमा पार्ने गरी भ्रष्टाचारी, कुशासन, वेथिति मात्रै भएको प्रचार गरिरहेका छन् भने राजावादीहरुले गणतन्त्रवादी सवै भ्रष्टाचारी भएको र मुलुकको अस्तित्व वचाउन, देश र जनतालाई समृद्ध बनाउन राजालाई अभिभावकका रुपमा राख्नै पर्ने तर्क गरिरहेका छन् । सत्तामा छँदा सवै ठिक र सत्ता बाहिर जाँदा सबै वेठिक देख्न दलहरुले एकअर्कालाई भ्रष्टाचारीको आरोप लगाउने गरेका छन्, विपक्षमा हुँदा विभिन्न काण्डहरुमा नेताहरु मुछिएको भन्दै छानविन गर्नुपर्ने माग गर्छन् तर सत्तामा पुगेपछि मौन बस्छन् । आरोपहरुको छानविन भएर यथार्थ बाहिर सवै नेता उस्तै भन्ने भ्रम जनतामा पैदा भएको छ ।
अमेरिका, चीन र भारतले अब गणतन्त्रको पक्ष लिँदैनन्, युएसएडको आर्थिक सहयोग बन्द भए जस्तै सवैले बन्द गर्छन् र राजतन्त्र छिट्टै आउने हल्ला दुर्गा प्रसाईहरुले मात्र होइन, राजतन्त्र समर्थक राजनीतिक विश्लेषकहरुले समेत गर्न थालेका छन् ।
अस्तिको प्रदर्शनले गणतन्त्रवादीहरु जति त्रसित भएका छन् त्यो भन्दा धेरे राजतन्त्रवादीहरु हौसिएका छन् । कतिपयले ज्ञानेन्द्रलाई राजतन्त्र घोषणा गर्न आग्रह गर्दै नवराज सुवेदीको नेतृत्वमा मन्त्रिपरिषद् बनाउन सदस्यहरुको सुचि नै बुझाएको समाचार सुत्रको दावी छ ।
रामेछाप घर भई हाल काठमाडौंमा बस्दै आएका तत्कालीन राष्ट्रिय पञ्चायत (हालको संसदजस्तै) का अध्यक्ष भइसकेका ८६ वर्षिय सुबेदीको नेतृत्वमा सरकार बनाउन र विमल कोइराला अर्थ, राजेश्वर आचार्य परराष्ट्र, कृष्णनारायणसिंह थापा रक्षा, आनन्दराज मुल्मी उद्योग, सूर्यकिरण गुरुङ कानून र बुद्धिमान तामाङ कृषिमन्त्री बनाउन सुचि बुझाएको बताइएको छ ।
त्यस्तै, सु्चिमा शिक्षामन्त्री केदारभक्त माथेमा, स्थानीय विकासमा धवलशमशेर राणा, संस्कृतितर्फ जगमान गुरुङ र भूमि ब्यवस्थातर्फ कृष्णलाल थकालीको नाम रहेको छ भने राज्यमन्त्रीमा युवराज गौतम सूचना तथा संचार, डाक्टर वसन्त पन्त स्वास्थ्य, राजीवविक्रम शाह भौतिक योजना, अर्थ राज्यमन्त्रीमा राधेश पन्त, शिक्षा राज्यमन्त्री प्राध्यापक रवीन्द्र खनाल, परराष्ट्र मदन भट्टराई, विज्ञान प्रविधि महावीर पुन र वन तथा वातावरणमा देवेश झाको नाम रहेको बताइएको छ ।
एक समूहले सुचि बुझाएको चर्चा चलेपछि अर्को समुहले केही गणतन्त्रवादी दलका नेताहरुको नाम समेत समावेश गरेर अर्को सुचि तयार पारेको स्रोतको दावी छ । कागजमै सीमित हुने ‘राजावादी सरकार’को सुचिमा नाम समावेश गर्न पनि राजावादीहरुबीच दौडधुप भइरहेको पाइएको छ ।