काठमाडौं । विपक्षी दलहरुको समाजवादी मोर्चाले चैत १५ गते काठमाडौंमा वृहत् जनसभा आयोजना गर्ने भएको छ । आज बसेको समाजवादी मोर्चाको बैठकले १५ गतेको जनसभालाई वृहत् बनाउने निर्णय भएको र आज साढे २ बजे पत्रकार सम्मेलन गरेर वैठकका निर्णय र अपिल सार्वजनिक गर्ने मोर्चाका एक सदस्यले बताएका छन् ।
फागुन २५ गते राप्रपा, राप्रपा नेपाललगायत राजसंस्था पक्षधर समूहले काठमाडौंमा प्रदर्शन गरेपछि मोर्चाले पनि गणतन्त्रको पक्षमा प्रदर्शन गर्न लागेको हो ।
समाजवादी मोर्चाका एक नेताका अनुसार १५ गतेको वृहत् प्रदर्शनलाई भव्य बनाउने र त्यसका लागि संसदवादी दलहरू र बाहिर रहेका दलहरूसँग छलफल गर्ने, गणतन्त्र रक्षाको गर्दै समाजवादतिरको यात्रालाई सहज बनाउने वातावरणका लागि छलफल गर्ने निर्णय गरिएको छ ।
यस्तै, मोर्चाले भोलि बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया, परामर्श गर्ने निर्णय पनि गरेको बताइएको छ ।