काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद शिशिर खनालले काठमाडौंको तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोकमा हरेको नेवार समुदायको चिहानको जग्गा नेपाली काँग्रेसका नेताले हडपेको आरोप लगाएका छन् । बुधवार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।
उनले तारकेश्वर–९ स्थिति लोकतान्त्रिक चोक कब्जामा लिई भोगचलन गरेको आरोप लगाएका हुन् । उक्त जग्गामा उजुरी पर्दासमेत स्थानीय निकायले संरक्षणका लागि कुनै पहल नगरेको खनालको आरोप छ ।
सांसद खनालले भने, ‘काठमाडौं क्षेत्र नं. ६ मा पर्ने तारकेश्वर– ९ को लोकतान्त्रिक चोकमा रहेको नेवार समुदायको चिहान रहेको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नं. ६२ र ६३ नेपाली कांग्रसका नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीको वाबजुद स्थानीय निकायले उक्त जग्गा संरक्षणमा ल्याउन कुनै पहल नगरेको आम गुनासो छ ।’
यस्तै रास्वपाकै सांसद सुमना श्रेष्ठले कांग्रेसका नेताले सरकारी जग्गा कब्जामा लिएको आमगुनासो रहेको भन्दै सरकारको ध्यानाकर्षण गरेकी छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन् । ‘काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ मा पर्ने लोकतान्त्रिक चोकको जग्गा, नेपाल सरकारको नाममा रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेसका नेताले कब्जामा लिई भोगचलन गर्दै आइरहेको स्थानीयहरूको गुनासो र उजुरीका बाबजुत स्थानीय सरकारले उक्त जग्गा संरक्षणमा कुनै पहल नगरेको आमगुनासो छ । यसमा पनि ध्यनाकर्षण गराएँ,’ उनले भनिन् ।
रास्वपाका सांसदहरुको यस्तो आरोपपछि कांँग्रेस सांसदहरु उठेर विरोध जनाउँदै होहल्ला गरे । सभामुख देवराज घिमिरेले तथ्यमा टेकेर मात्र अभिव्यक्ति दिन समेत संसदको ध्यानाकर्षण गराए ।