काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस–एमाले सरकारकै कारण लोकतन्त्र खतरामा पर्ने देखिएको आरोप लगाएका छन् ।
मंगलबारको संसद् बैठकलाई सम्बोधन गर्दै प्रचण्डले सबैभन्दा ठूलो पार्टी नेतृत्वमा सरकार नबनाएर बलमिच्याइँ गर्दै अघि बढेपछि लोकतन्त्रमाथि नराम्रोसँग प्रहार गरेको जनताले महसुस गरेको बताएका छन् ।
केही दिनअघि भएको राजावादीहरुको प्रदर्शनलाई संकेत गर्दै प्रचण्डले कुनै हालतमा प्रतिगमनलाई सफल हुन नदिइने बताएका छन् । राजावादीलाई विदेशी शक्तिले उकासेको टिप्पणी गर्दै उनले सरकारको कार्यशैलीकै कारण राजावादी सडकमा आएको पनि बताएका छन् ।
सरकारको अक्षमताका कारण देशका हरेक तप्का र समुदाय आन्दोलनको मोडमा पुगेको बताउँदै प्रचण्डले भने ‘राजावादी यसरी सक्रिय हुनुमा संगठित शक्ति लागेको छ, देशभित्रबाट मात्रै होइन, विदेशी शक्तिले पनि राजावादीलाई उकास्न चलखेल गरेका छन् ।’
उनले विश्वका कयौँ देशमा राजतन्त्र अन्त्य हुँदा काटिएको र मारिएको स्मरण गर्दै नेपालमा भने सम्मानजनक रुपमा नागरिकको हैसियत दिएर बिदा गरिएको पनि बताए । नेपालमा लोकतन्त्रले राजावादीलाई बोल्ने हक दिएको बताउँदै तर धेरै चलखेल नगर्न पनि चेतावनी दिएका छन् ।
अध्यक्ष प्रचण्डले जनताको बलिदानबाट प्राप्त उपलब्धलाई उल्ट्याउन कोसिस भइराखेको बताउँदै सरकारको गलत क्रियाकलाप र राजावादीहरुको प्रतिगामी चलखेलकाविरुद्ध एकैसाथ जुध्नुपर्ने स्थिति सिर्जना भएको बताएका छन् ।