काठमाडौं । सत्तारुढ दल नेकपा एमालेले पूर्वराजा ज्ञानेन्द्र शाहको निर्देशन र उक्साहटबाट भइरहेका गतिविधि दण्डनीय भएको बताउँदै सरकारको ध्यानाकर्षण गराएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै एमाले मुख्य सचेतक महेश बर्तौलाले लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने वताउँदै भने “पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशन र उक्साहटबाट संविधान विपरितका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रिय गान गाउने, मुलुकको राष्ट्रिय गान गाउने, अवमूल्यन गर्ने काम भइरहेका छन्, पूर्वराजा स्वयंले उक्साइरहेका छन् । उनको उपस्थितिमा यी कामहरू भइरहेका छन् । यसतर्फ सरकारको ध्यान जान जरुरी छ ।”
बर्तौलाले र्यालीमा भारतीय जनता पार्टीका नेतासमेत रहेका उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको ब्यानर प्रदर्शन भएको भन्दै यस्ता कार्य गर्नेलाई कानुनी दायरामा ल्याउन जरुरी रहेको बताएका छन् ।
बर्तौलाले थपे, ‘संविधान विपरीतका सबै कार्य दण्डनीय हुन्छन् । संविधानको धारा ५ ले राष्ट्रहित विपरीतको गतिविधि दण्डनीय हुने भनेको छ । पूर्वराजा ज्ञानेन्द्रको नाम, निर्देशन र उक्साहटबाट अहिले समाजमा संविधान विपरीतका कार्य भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रियगान गाउने, राष्ट्रिय गानको अवमूल्यन र अपमान गर्ने संविधानविरोधी क्रियाकलाप गर्न उनी स्वयम्ले उक्साइरहेका छन् र उनकै उपस्थितिमा भइरहेको छ ।’
संग्राहलयमा थन्किएको राजतन्त्रलाई फेरि पनि हुकुमका माध्यमबाट देश चलाउँछु भन्ने सपना देख्ने वा देख्न लगाउनेहरूप्रति सचेत हुनुपर्ने चेतावनी पनि उनले दिएका छन् ।