काठमाडौँ । वीर अस्पतालको निर्देशकमा डा. दिलीप शर्मालाई नियुक्त भएका छन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उनलाई नियुक्त गरेको हो ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्रकुमार बस्नेतको संयोजकत्वमा गठित समितिको सिफारिसअनुसार डा. शर्मालाई उक्त पदमा नियुक्त गरेको बताइएको छ । समितिले डा. दिलीप शर्मा, डा. समाज गौतम र डा. अनुपमा कार्कीको नाम सिफारिस गरेको थियो ।
वीरको निर्देशक डा. सन्तोष पौडेलको दुईवर्षे कार्यकाल गत ४ फागुनमा सकिएपछि डा. समाज गौतमले निमित्त निर्देशकको जिम्मेवारी सम्हालिरहेका थिए ।
नवनियुक्त निर्देशक डा. शर्मा सोही अस्पतालमा १०औँ तहका कर्मचारी हुन् । वीर अस्पतालमै कार्यरत वरिष्ठ कलेजो रोग विशेषज्ञ डा. शर्माले प्रधानमन्त्री ओलीको क्याबिनेट चिकित्सकका रूपमा समेत काम गरिसकेका छन् ।

























