काठमाडौँ । राजावादीको सक्रियता बढेको भन्दै तराई मधेश जागरण अभियान स्थगित गरेर राजधानी फर्किएको नेकपा माओवादी केन्द्रले गणतन्त्रको विपक्षमा भइरहेको पूर्वराजाको सक्रियताविरुद्ध शसक्त प्रतिवाद गर्नुपर्ने निष्कर्ष निकालेको छ।
सोमबार बसेको माओवादीको पदाधिकारी बैठकले पूर्वराजा ज्ञानेन्द्रलाई अघि सारेर राजावादीले व्यवस्थामाथि चुनौति दिन खोजेको ठहर गरेको एक पदाधिकारीले बताएका छन् ।
कांग्रेस–एमाले सरकारले गर्न नसकेका कामले जनतामा असन्तुष्टि बढेको आरोप लगाउँदै माओवादीले गणतन्त्रको रक्षा र विकासमा लाग्नु पर्ने निचोड निकालेको एक नेताले बताए । त्यसका लागि माओवादीका शीर्षसहितका नेताले सोमबार नै समाजवादी मोर्चामा रहेका दलसँग छलफल गर्ने बताइएको छ ।
गणतन्त्र पनि धार मिल्नेसँग छलफल गरेर संयुक्त रुपमा आन्दोलन गर्ने र अरुले साथ नदिए पार्टीका तर्फबाट प्रदर्शन गर्नुपर्ने निष्कर्ष निकालिएको एक नेताले बताएका छन् ।
हिजो पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतमा भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ योगीको तस्बिर प्रयोग हुनुले बाह्य शक्तिहरुले हिन्दू राज्यको अवधारणसहित संविधान संशोधनमा जोड दिनु खोजेको निष्कर्ष निकालेको छ ।
वैठकमा अध्यक्ष प्रचण्डले परिस्थिति गणतन्त्रवादीको हातभन्दा बाहिर जाने स्थिति बन्न खोजिरहेको ब्रिफिङ गरेको बताइएको छ ।
























