काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनमा भूमिका नभएका नेपालजस्ता मुलुकका लागि जलवायु न्यायको विषय हरेक अन्तर्राष्ट्रिय मञ्चहरूमा उठ्न जरुरी भएको बताउनु भएकाे छ । भौगर्भिक समाजद्वारा आज यहाँ आयोजित सम्मेलनको उद्घाटन गर्दै उहाँले जलवायु न्यायको मुद्दालाई विश्वजगत्मा पुर्याउनुपर्ने बताउनु भएकाे हाे ।
उहाँले विकसित देशहरूमा भएको अन्धाधुन्ध औद्योगिकीकरण, जीवाश्म इन्धनको दोहन, कार्बन उत्सर्जनले जलवायु परिवर्तनमा भूमिका नै नभएका नेपालजस्ता विकासशील एवं अल्पविकसित देशहरू समेत प्रभावित हुनुपरेको सन्दर्भमा जलवायु न्यायको विषयलाई जोडदार रूपमा उठाउन सक्नुपर्नेमा जोड दिनु भयाे ।
जलवायु परिवर्तनका असरहरूको न्यूनीकरण, प्राकृतिक प्रकोप तथा व्यवस्थापन जस्ता जल्दाबल्दा विषयले भौगर्भिक सम्मेलनको महत्वलाई बढाएको छ भन्दै राष्ट्रपति पौडेलले मानव जनजीवनसँग प्रत्यक्ष सरोकार रहेको यस किसिमका संवेदनशील मुद्दा सम्बोधनका लागि राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा सहयोग र सहकार्य हुनुपर्ने खाँचो औँल्याउनु भएकाे छ ।
राष्ट्रपति पौडेलले पृथ्वीको तापक्रम अस्वभाविक रूपमा वृद्धि भइरहेको सन्दर्भ उल्लेख गर्दै तीन दशकयताको यस अवधिमा हाम्रा हिमालका हिउँ पग्लिएर हिमतालहरू फुट्ने अवस्थामा पुगेको, अधिकांश हिमाल नाङ्गा पहाडमा रूपान्तरण हुने क्रममा रहेको, अधिक वर्षाका कारण जलप्रकोप, पहिरो र भूक्षयबाट बर्सेनि जनधनको ठूलो क्षति भइरहेको भनी चिन्ता व्यक्त गर्नु भयाे ।
उहाँले हिमालय पर्वत शृङ्खलामा बेलाबेलामा गइरहने भूकम्प पनि हिमाली मुलुक नेपालको विकास निर्माणका लागि समस्याका रूपमा रहेको बताउँदै केही प्राकृतिक प्रकोपहरूको पूर्वानुमान गर्न सकिने भए पनि भूकम्पसम्बन्धी पूर्वानुमान गर्न सकिने संयन्त्रको आविष्कार हुन नसक्दा समस्या सिर्जना भएको धारणा व्यक्त गर्नु भएकाे छ ।
राष्ट्रपति पौडेलले सम्मेलनमा नेपालका खानी तथा खनिजजन्य पदार्थको स्थिति, अन्वेषणको अवस्था, जलवायु परिवर्तन र त्यसको प्रभाव, भौतिक पूर्वाधारको विकासमा भू–विज्ञानको प्रयोगका बारेमा विचारविमर्श हुने विश्वास व्यक्त गरे । उनले प्राकृतिक स्रोतको उत्खनन, सदुपयोग र बजार व्यवस्थापनका लागि लगानीकर्ताको ध्यान आकर्षण गर्न समेत भौगर्भिक सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गर्नु भएकाे छ ।
राष्ट्रपति पौडेलले भन्नभयाे, “२०७२ सालको गोर्खा भूकम्प गएको एक दशक पुग्न लागेको पूर्वसन्ध्यामा त्यसको समीक्षा समेत गरिने भएकाले यो भौगर्भिक सम्मेलनका विशेष महत्त्व छ, सम्मेलन सफलताका कामना गर्दछु ।”

























