काठमाडौं । भ्रमणका लागि गण्डकी प्रदेश पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह आज पोखराबाट काठमाडौं फर्किंदैछन् । हवाई मार्गबाट उनी फर्किदा राजावादीहरुले एयरपोर्टदेखि निर्मल निवाससम्म धूमधाम स्वागत गर्ने तयारी गरेका छन् । पूर्वराजाको प्रिय को बन्ने भनेर प्रतिस्पर्धामा रहेका राप्रपा, राप्रपा नेपालसहितका राजनीतिक दल र संघसंस्था र राजावादीहरुले काठमाडौंका विभिन्न स्थानबाट र्यालीसहित पूर्वराजाको स्वागत गर्ने तयारी गरेका छन् ।
राष्ट्रिय झण्डा, फूलमाला र ज्ञानेन्द्र शाहको तस्वीर अंकित ब्यानर एवम् पम्प्लेटसहित सडकका दुवै किनारमा उपस्थित भएर उनको स्वागत गर्ने र उनको पछि लागेर निर्मल निवाससम्म जाने तयारी राजावादीहरुले गरेको बताइएको छ ।
राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपा र कमल थापा नेतृत्वको राप्रपा नेपालले आफ्ना कार्यकर्ताहरुलाई बेग्लाबेग्लै उतार्ने तयारी गरेका छन् । उनीहरुले काठमाडौं उपत्यका आसपासका जिल्लाबाट कार्यकर्ताहरुलाई उपस्थित हुन उर्दी जारी गरेका छन् ।
त्यस्तै अनिल बस्नेत नेतृत्वको शिव सेना नेपाल, दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान, प्रसाईं समर्थित नागरिक प्रतिरक्षा बल (पीडीएफ), राष्ट्र शक्ति नेपाल, नेवाः एकता तथा नागरिक समाज लगायत पूर्वराजा शाहको स्वागतका लागि सडकमा उभिने बताइएको छ ।
राप्रपाका अनुसार काभ्रे, भक्तपुर, ललितपुर, कीर्तिपुर, नागार्जुन तर्फबाट आउनेहरुको र्याली तिनकुनेमा जम्मा भएर विमानस्थलतर्फ अगाडि बढ्ने छ भने गोकर्णेश्वर, कागेश्वरी, शंखरापुर, बूढानीलकण्ठ, तारकेश्वर, धादिङ र नुवाकोट भएरबाट आउनेहरु महाराजगञ्ज, चाबहिल हुँदै गौशाला क्षेत्रमा भेला भएर विमानस्थलतर्फ अगाडि बढ्ने बताइएको छ ।
त्यस्तै राजावादीका अन्यहरुले विभिन्न स्थानबाट र्याली निकालेर विमानस्थल अगाडिको गेटमा भेला भएर नारा जुलुससहित ज्ञानेन्द्र शाहलाई निर्मल निवासम्म पुर्याउन जाने बताइएको छ ।

























