काठमाडौँ । काठमाडौंमा राजावादीहरुले प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो साढे ३ बजे पोखराबाट काठमाडौँ फर्किंदै छन् । उनको स्वागतमा राजावादी दल र समूहहरुले आज दिउँसो काठमाडौँमा प्रदर्शनको तयारी गरेपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
पूर्व राजाको स्वागतमा राप्रपासहितका दल र समूहहरुले एयरपोर्ट गेटदेखि निर्मल निवाससम्म प्रदर्शन गर्ने तयारी गरेपछि प्रदर्शनलाई उच्छृंखल हुन नदिन काठमाडौँका मुख्य चोकमा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएर उच्च सतर्कता अपनाइएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी अपिलराज बोहोराले जानकारी दिएका छन् ।
प्रदर्शनले शान्ति सुरक्षामा कुनै असर नपुगोस् भनेर सुरक्षा व्यवस्थालाई कडा बनाएको र नेपाल प्रहरीका एक हजारभन्दा धेरै सुरक्षाकर्मी परिचालित हुने प्रवक्ता बोहोराले बताएका छन् । सशस्त्र प्रहरी पनि परिचालित हुने छन् ।
राजावादी समूहहरुले प्रदर्शनको तयारी गरेपछि काठमाडौँका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीको अध्यक्षतामा जिल्ला सुरक्षा समितिको बैठकसमेत बसेको थियो ।
























