महोत्तरी । जिल्लामा मुख्य दलका नेताको एकैपटक जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बिहीबार एकै दिन जिल्लामा भएका कार्यक्रममा सहभागी भए ।
‘मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुन्छ, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ’, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री भन्छन्, ‘मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।’
तत्कालै कुनै परिणाम देखिनहाले पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी रूपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ ।
प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा, देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र प्रचण्ड सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेश जागरण अभियान’को कार्यक्रममा सहभागी भए । ‘तीनै ठाउँमा मधेशको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आफू प्रतिबद्ध रहेको बताउनुभयो’, गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्छन्, ‘नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेका छन् ।’ बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै जिल्लामा आउँदा आशलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ ।
बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सहभागी भएका प्रचण्डले बिहानबेलुका सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गरेका छन् । देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्त्वका साथ हेरिने बताए । प्रचण्डले सुक्खा बन्दरगाहबारे आफू निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाए । सोहीकारण आफू आशावादी भएको जलेश्वर उद्योग वाणिज्य संघका अध्यक्ष शिवचन्द्र चौधरी बताउँछन् ।
प्रधानमन्त्री ओलीसहित संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री शरतसिंह भण्डारी र मधेश प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंह पनि विभिन्न कार्यक्रममा सहभागी भए ।
कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने आज मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ । नेताहरूको यो जमघट जति बढ्यो, यहाँका आवश्यकताका कुराले जिम्मेवार ठाउँमा उति चर्चा पाएका शिक्षाविद् बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउँछन् । यस भेगमा नेताहरूको जमघटबीच यहीँकै विकास निर्माण र त्यससम्बन्धी बहसका मुद्दा जोडतोडका बढ्दा अब नयाँ कामका विषयबारे सघन चासो र चर्चा बढेको घिमिरेको ठम्याइ छ । (रासस)