काठमाडौं । नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पटक पटक स्पष्टीकरण सोधेको र हटाउने तयारी गरेको प्रति आपत्ति जनाएका छन् ।
प्रतिनिधि सभाको बैठकमा बोल्दै माओवादी केन्दका प्रमुख सचेतक हितराज पाण्डे र राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले नेपाललाई लोडसेडिङ मुक्त गराउँदै विद्युत् प्राधिकरणलाई नाफामा लान सफल घिसिङलाई कार्यसम्पादन शून्य अंक दिएकोप्रति असन्तुष्टि जनाएका छन् ।
प्रमुख सचेतक पाण्डेले भने, ‘सार्वजनिक संस्थाहरू घाटामा गइरहेको बेलामा लोडसेडिङको अन्त्यदेखि अहिलेसम्म निरन्तर उचाइमा लगिरहेको बेलामा निरन्तर स्पष्टीकरण सोधेर सरकारले के सोचेको हो ? त्यो विषयवस्तुको बारेमा ध्यानाकर्षण गराउँछु ।’
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले सरकारले विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारवाही गर्न लागेको भन्दै आपत्ति जनाएका छन् ।
कुलमान जस्तो मुलुकलाई फाइदा पु¥याउने व्यक्ति कारबाही गर्ने सरकारको रवैया ठीक नहुने बताउँदै झाले भने ‘खबरदार एउटा कुलामान लखेट्यौ भने हामी हजारौ कुलमान लिएर आउँछौ ।’
राप्रपाका शाहीले कुलमानलाई हटाइए सदन र सडकबाट आन्दोलन गर्ने चेतावनी दिएका छन् ।