काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा १ सय पूर्णांकमा २३.२५ मात्र पाएर फेल भएका खानेपानी मन्त्री प्रदीप यादव भ्रष्टाचार र अनियमित काममा भने अब्बल बनेका छन् । उनले गरेका भ्रष्टाचार र अनियमितता एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका छन् ।
मन्त्री यादवले आफू मातहतका योजना र आयोजनाका ठेक्का, कोटेशन र कर्मचारीहरुको अनियमित सरुवामा मोटो रकम लिने गरेको चर्चा कर्मचारीवृत्तमा व्याप्त छ । मन्त्री यादवले असोजमा सरुवा गरेका अयोजनाका प्रमुखहरुलाई काम गर्ने सिजनमा पुनः सरुवा गरेर कर्मचारीहरुमा आतंक र्सिजना गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको समेत बद्नाम हुने गरि मन्त्री यादवले मन्त्रीपरिषद्बाट जारी भएका नीति र निर्देशनहरुलाई आफू अनुकूल नभएको भन्दै मन्त्रीस्तरीय निर्णयबाट खारेज गर्ने तयारी गरेको मन्त्रालय स्रोतले जानकारी दिएको छ ।
खानेपानी मन्त्रालय मातहत रहेका कम्पनी, बोर्ड, संस्थान र समितिका प्रमुखको नियुक्ति, सेवा र सूविधाहरुको मन्त्रीपरिषद्बाट जारी भएका निर्देशिकालाई आफैंले खारेज गरेर आफू अनुकुल बनाउने प्रयास मन्त्री यादवले गरेका छन् ।
मन्त्री यादवले संघीय खानेपानी ढल व्यवस्थापन आयोजना बुटवल, वीरगञ्जका प्रमुखहरुले दोस्रो किस्ता नदिएको भन्दै सरुवा गरेका छन् भने जनकपुरको प्रमुखलाई मन्त्रालयमा बोलाएर अलपत्र पारेका छन् । उनको ठाउँमा पनि मोटो रकम लिएर अर्को व्यक्तिलाई पठाउने तयारी गरिरहेको मन्त्रालय स्रोतले बताएको छ ।
मन्त्री यादवले खानेपानी आयोजनाहरुको करिव १२ करोडको डीपीआरको काम कोटेश्नमा आफू निकटका मानिसहरुलाई दिएर ७५ प्रतिशत कमिशन खाएको आरोप लागेको छ । उनले खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रामचन्द्र काफ्ले र आफ्ना निजी सचिव अभिमन्यु यादवमार्फत २० ओटा आयोजनाबाट करिव १२ करोड भन्दा बढीको डीपीआर गराएका छन् ।
मन्त्री यादवले खानेपानीको आयोजनामा कन्सल्टेन्टको काम दिन्छु भन्दै भारतीयहरुबाट एक करोड रुपयाँ कमिशन बुझिसकेको गाईगुई हल्ला मन्त्रालयमा चलेको छ ।
त्यो कन्सल्टेन्टले अहिले पनि त्यो आयोजनामा काम गरिरहेको छ । उसले टिम लिडर र आवश्यक संख्यामा प्राविधिक कर्मचारीहरु उपलब्ध नगराएको भन्दै आयोजनाले किन ठेक्का रद्ध नगर्ने भनेर पत्र लेख्नु परेको आयोजना स्रोतले दावी छ ।
त्यस्तै नेपाल खानेपानी संस्थानको महाप्रबन्धक नियुक्ति गर्दा अर्जुनबाबु ढकालसँग मोटो रकम बुझेको जानकारवालाहरुले बताएका छन् । डा. डीपी चापागाईँ, डा. ईश्वर प्रसाद र अर्जुनबाबु ढकालको नाम मन्त्रीपरिषद्मा सिफारिस भएकोमा ढकाल नियुक्त भएका छन् । मन्त्री यादवले तीन जनाको नाम पदपुर्ति समितिले सिफारिस गरेपछि तीनै जनासँग छुट्टाछुट्टै भेटेका थिए । तर, नियुक्ति ढकालले पाएका छन् ।
मन्त्री यादवले खानेपानी तथा ढल व्यवस्थापन बिभागका महानिर्देशक रामकुमार श्रेष्ठलाई बलीको बोको बनाउँदै खानेपानी मन्त्रालयका सहसचिवहरुको वरियताक्रममा १३ औं नम्बरमा रहेका रामचन्द्र काफ्लेलाई नियुक्ति गर्ने आश्वासन दिएको बुझिएको छ । २०८२ असारमा अवकाश हुन लागेका काफ्लेसँग २ करोड घुस खाएर महानिर्देशक बनाउने तयारी रहेको मन्त्री निकट स्रोतले दाबी गरेको छ । काफ्ले उपसचिव हुदाँ २ बर्ष अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट निलम्बनमा पनि परिसकेका सहसचिव हुन् ।
यीनै जुनियर सहसचिव काफ्लेका कारण धेरै सिनियर सहसचिवहरुले खानेपानी विभाग छोडिसकेका छन् । उनी आफू मातहतको काम समयमा नगर्ने र अरु कर्मचारीहरुलाई दोष लगाउँदै आएका छन् । काफ्लेलाई निजामती किताव खानाले अनिवार्य अवकाशको पत्र पनि पठाइसकेको छ ।

























