काठमाडौं । अमेरिकामा विनाकागजात अवैधानिक रुपमा बसिरहेका १० जना नेपालीलाई अमेरिकाले नेपाल फिर्ता ल्याइदिएको छ ।
अमेरिकाले ती नेपालीलाई चार्टर विमानमार्फत आज बिहान १० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याएर छाडेको हो । अवैधानिक आप्रवासी निष्कासन गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको नीति अनुसार हालसम्म ३७ नेपालीलाई फर्काइएको छ । उनीहरुमध्ये जनवरीमा ६ जना, फेब्रुअरीमा २० जना र मार्चमा १ नेपाली अमेरिकाबाट निकाला भएर काठमाडौं फर्किएका थिए । आज १० जनालाई भने अमेरिका सरकारले नेपालमै ल्याएर छोडिदिएको हो ।
१० नेपालीसँगै केही अल्बानियाका नागरिक पनि आएका अध्यागमन कार्यालयले जनाएको छ । उनीहरुलाई तिराना अन्तर्राष्ट्रिय विमानस्थलमा ओरालेपछि उक्त विमान काठमाडौँ आएको हो । उक्त विमान केही अमेरिकी नागरिक लिएर फर्किने बताइएको छ ।
इमिग्रेसन एन्ड कस्टम इन्फोर्समेन्टको रिपोर्टअनुसार अमेरिकामा अवैधरूपमा बसोबास गर्ने नेपालीहरू बढी निशानामा पर्दै आएका छन् । त्यसो त विद्यार्थी भिसामा गएर कानुन विपरीत काम गर्ने नेपालीहरूलाई पनि ट्रम्प प्रशासनले निशाना साँधिरहेका छन् । अमेरिकाबाट नेपाल फर्काइएकाहरूमाथि अवैध प्रवेश, गैरकानुनी रूपमा बसोबास र अध्यागमन कानुन विपरीत काम गरेको आरोप लगाइएको छ ।
यसअघिका राष्ट्रपति जो बाइडेनको चारवर्षे कार्यकालमा करिब ९ हजार नेपाली बिनाभिसा अमेरिका प्रवेश गरेको अनुमान छ । तीमध्ये २ हजार ८ जना अहिले अमेरिकी प्रशासनको हिरासतमा छन् ।
पहिलो चरणमा अवैध रुपमा अमेरिकामा बस्दै आएका विभिन्न देशका १४ लाख ४५ हजार ५ सय ४९ जना आप्रवासीलाई देश निकाला गर्ने तयारी अमेरिकी प्रशासनले गरेको छ ।