काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (बुधबार) बस्ने भएको छ। आज बस्ने प्रतिनिधि सभा बैठकमा भूमि बाहेकका पाँच अध्यादेश अगाडि बढाउने कार्यसूची रहेको छ ।
मंगलबार बसेको प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश स्वीकृतिका लागि निर्णयार्थ पेस गर्ने कार्यसूची तय गरेको हो । यसअघि गत माघ २४ गते अध्यादेश कार्यसूचीमा चढेर पनि स्थगित भएको थियो । त्यसको झण्डै एक महिनापछि अध्यादेश अगाडि बढाउने सम्बन्धी कार्यक्रम कार्यसूचीमा परेको हो ।
सत्तापक्षमै रहेको जनता समाजवादी पार्टी (जसपा) नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले भूमि सम्बन्धी अध्यादेश अगाडि बढाउन सहयोग नगर्ने अडान लिएपछि सरकारले बाँकी अध्यादेश अगाडि बढाउन लागेको हो ।
गत १४ पुसमा सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश जारी भएको थियो । भूमि सम्बन्धी केही नेपाल ऐन संशोधन अध्यादेश गत माघ २ गते जारी भएको थियो । पुस २९ गते थप चार वटा सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश जारी भएको थियो ।
त्यस्तै, निजीकरण (पहिलो संशोधन) अध्यादेश, आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी भएको थियो । यी ६ वटै अध्यादेश गत माघ १८ गते दुवै सदनमा पेस भइसकेको छ । प्रतिस्थापन विधेयक ल्याउन संसद सूचारु भएको मितिले ६० दिनभित्र अध्यादेश दुवै सदनबाट स्वीकृत गराउनुपर्ने प्रावधान रहेको छ ।
सङ्घीय संसद् सचिवालयले दिउसो १ बजेका लागि बैठक बोलाइएको हो ।


























