काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री केपी ओलीले थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
‘केपी शर्मा ओली : सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तक लोकार्पण गर्दै पूर्वराष्ट्रपति भण्डारीले गुट र फुटलाई परास्त गरेर पार्टीलाई सुदृढ तुल्याउन ओलीले खेलेको भूमिकाको सराहना गर्दै कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन थप योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले एमालेको आन्तरिक जीवनलाई लोकतान्त्रीकरण गर्न कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउन प्रधानमन्त्री ओलीले खेलेको भूमिकाको स्मरण गर्नुभयो । राजनीतिक दलहरूले जस्तोसुकै कठिन परिस्थितिमा पनि लोकतान्त्रिक मूल्य मान्यतालाई आत्मसाथ गर्नुपर्ने उहाँको भनाइ छ।
भण्डारीले बहुलबाद र बहुदलीय प्रतिस्पर्धालाई उच्च प्राथमिकता दिएर राजनीतिक श्रेष्ठताबाट नै सरकारको नेतृत्वमा पुग्ने र सामाजिक, आर्थिक, रूपान्तरण गर्ने लक्ष्य लिएको एमालेलाई कुनै पनि राजनीतिक घटना परिघटनाले विचलित तुल्याउन नसक्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेको नेतृत्वदायी पहललाई केन्द्र राखेर सो पुस्तक तयार गरिएको हो ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद, सामाजिक व्यक्तित्वहरूका लेख/रचनासमेत समावेश गरिएको छ। सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशित गरेको हो ।




















