काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबाट ‘केपी शर्मा ओलीः सपना, सङ्घर्ष र सङ्कल्प’ पुस्तकको आज लोकार्पण भएको छ ।
पत्रकार गणेश पाण्डेद्वारा सम्पादित पुस्तकमा प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र प्राप्तिका लागि गरेको अनेक सङ्घर्षदेखि मुलुकको समृद्धिका लागि देखाएका सपना र गरेका नेतृत्वदायी पहललाई समेटिएको छ ।
पुस्तकमा प्रधानमन्त्री ओलीका सहयात्री, राजनीतिज्ञ, अर्थविद्, सामाजिक व्यक्तित्वहरुका लेख–रचनासमेत समावेश गरिएको छ । सो पुस्तक अल्केमी प्रकाशनले प्रकाशित गरेको हो । कार्यक्रममा प्रधानमन्त्री ओली, एमालेका महासचिव शङ्कर पोखरेललगायत सहभागी थिए ।
पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले ओली प्रधानमन्त्री हुँदा नाकाबन्दीको सामना गरेको स्मरण गर्दै राष्ट्रको जीवनमा असाधारण काम गरेको बताएका छन् ।
‘नाकाबन्दीको सामना गर्ने कुरो होस् चाहे नयाँ नक्सा प्रकाशित गर्ने कुरा होस् । चाहे जनामा मुर्झाएका सपनालाई जागृत गरेर विकास र समृद्धिको बाटोमा मुलुकलाई अगाडि बढाउने कुरामा होस्’ प्रधानमन्त्री ओलीले असाधारण काम गरेको महासचिव पोखरेलले दावी गरेका छन् ।
राष्ट्रियताको प्रश्नमा दिशानिर्देश गर्ने कुरामा पनि अग्र स्थानमा रहेपनि अहिले ओली र एमालेमाथि प्रहार र घेराबन्दी भइरहेको बताएका छन् । उनले सामाजिक सञ्जालमा समाजमा सबैभन्दा धेरै आलोचनाको पात्रको रुपमा केपी ओलीलाई चित्रण गराइएको भन्दै आपत्ति जनाएका छन् ।




















