काठमाडौं । अध्यादेश पारित गर्न राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय समिति बैठक बोलाएको छ ।
यही फागुन फागुन १८, १९ र २० गते ललितपुरको भोलढोकास्थित ज्यापू प्रज्ञा भवनमा बस्ने केन्द्रीय समिति बैठकमा मुख्यतः अध्यादेशकै विषय छलफल हुने एक नेताले बताएका छन् । अध्यादेशमा आएका विषय कार्यदल बनाएर अध्ययन गरिएको र केही विषयमा केन्द्रीय समितिमा समेत छलफल हुनुपर्ने देखिएकाले बैठक बोलाइएको ती नेताले बताएका छन् ।
सरकारले संसद अधिवेशन नरहेका बेला विभिन्न ६ वटा अध्यादेश ल्याएको थियो । ति अध्यादेशमा रहेका विषयवस्तुबारे जसपा नेपालले उपाध्यक्ष राजकिशोर यादवको नेतृत्वमा कार्यदल बनाएर अध्ययन गरेको थियो । अध्ययनको आधारमा जसपा नेपालको संसदीय दलको बैठकले भूमि सम्बन्धी अध्यादेश बाहेकमा मात्र सहयोग गर्ने निर्णय गरेको थियो । जसले गर्दा सरकारले कुनै पनि अध्यादेश संसदीय प्रक्रियामा अगाडि बढाउन सकिरहेको छैन ।
अध्यादेशका बारेमा छलफल र निर्णय गर्न केन्द्रीय समितिको बैठक बोलााएपछि यसअघि संसदीय दलको वैठकको निर्णय पुनर्विचार हुन सक्ने अनुमान राजनीतिक विश्लेषकहरुले गरेका छन् ।