काठमाडौँ । पूर्वउपराष्ट्रपति नन्दकिशोर पुनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रविरुद्धको आन्दोलन सम्भव नहुने स्पष्ट पारेका छन्।
गोरखा, बारपाक सुलिकोट गाउँपालिकाले बुधबार जनयुद्धका प्रथम सहिद दिलबहादुर रम्तेलको २९औँ स्मृति दिवसको अवसरमा आयोजित सहिदपरिवार सम्मान तथा प्रगतिशील साहित्यिक गोष्ठी एवं बलिदानी दिवस कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले भने, ‘‘गणतन्त्रमाथि चौतर्फी हमला भइरहेको छ, दुई पटक उपराष्ट्रपति पनि भएँ तर गणतन्त्रमार्फत प्राप्त समानुपातिक समावेशी अधिकार कसरी हत्याउन सकिन्छ, भनेर प्रतिगामी शक्ति क्रमशः हाबी हुँदै गएको मैले देखेँ।’
नेपाली जनता संविधानले निर्दिष्ट गरेको बाटोमा अघि बढ्न चाहेको उनको भनाइ थियो। संविधानले समाजवादको परिकल्पना गरेकाले पुनले समाजवाद प्राप्तिपछि मात्र सहिदहरुको सपना सार्थक हुने तर्क गरेका छन्। जनताका आवश्यक एकैचोटी पूरा हुन नसक्ने भए पनि पार्टीहरुले निरन्तर जनताको पक्षमा काम गर्नुपर्नेमा उनको जोड थियो। (रासस)

























