काठमाडौं । नेकपा एमालेका सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको धार्मिक पर्यटकीय स्थल पाथीभरा (मुकुम्लुङ) क्षेत्रमा केबलकार निर्माणमा भइरहेको विरोधमा राजनीति छिरेको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै ताप्लेजुङका संघीय सांसद समेत रहेका नेता भट्टराईले धर्मसस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा प्रयोग गरिएको आरोप लगाएका छन् । उनले विरोधको हक सबैलाई भएपनि ऐन र कानूनले दिएको अधिकारको उपयोग गरेर केबलकार निर्माण थाल्दा कुनै स्वार्थ समूहले राजनीति छिराउन नहुने बताएका छन् ।
सांसद भट्टराईले भनेका छन् –‘ताप्लेजुङमा भइरहेको आन्दोलन र जुलुसमा नागरिकहरु आतंकित बनेका छन् । मसाल जुलुस प्रदर्शन गर्दा नागरिकका घरमा आगो फाल्ने काम भयो । सुरक्षाकर्मीमाथि सांगातिक हमला गर्ने काम भयो । उनीहरु घाइते छन् । उनीहरुको संयमताले अन्य गतिविधि र थप नोक्सानी हुनबाट जोगिएको छ । ताप्लेजुङ जिल्ला पटक-पटक आगोलागीको चपेटामा परेको छ । त्यहाँ सुरक्षाकर्मीको संयमताले त्यस्तो स्थिति आउन पाएन । विकासको विरोधी कोही पनि छैन । धर्म र संस्कृतिकिो विरोधी कोही पनि छैन् । धर्म संस्कृतिलाई व्यक्तिको निजी स्वार्थमा जब हामी प्रयोग गर्न थाल्छौं । राजनीतिमा धर्म संस्कृति प्रवेश गराउँछौं । तब विवादको ठूला रुप लिन्छ । नेपाल बहुभाषिक बहुजाति, बहुधार्मिक र बहुसांस्कृतिक मुलुक हो । यस्तो मुलुकमा यस्तो खालको विवाद उत्पन्न हुनु अत्यन्तै दुखद कुरा हो ।’
त्यसतै राप्रपाका अध्यक्ष एवम् सांसद राजेन्द्र लिङ्देनले जनताले केबलकार निर्माणका विषयमा प्रतिरोध गरिरहँदा पनि राज्य दमनमा उत्रिएको बताएका छन् । उनले भने, ‘पाथीभरा क्षेत्र अशान्त भइरहेको छ । एक प्रकारले रणमैदानमा परिणत भइरहेको छ। सारा राज्य शक्ति लगाएर दमन गरेर केबलकार निर्माण गर्ने कार्य भइरहेको छ। त्यो काम अविलम्ब रोकियोस् । त्यो कसैको हितमा छैन ।’
समाजलाई विभाजन गर्ने र भाइभाइलाई लडाउने काम रोक्न माग गर्दै लिङ्देनले पाथीभरा क्षेत्र रणमैदानका रूपमा परिणत हुँदा पनि प्रधानमन्त्री, गृहमन्त्री, राजनीतिक दलहरू, मानवअधिकारवादी र नागरिक समाज मौन रहेको आरोप लगाएका छन् । राप्रपा अध्यक्षसमेत रहेका लिङ्देनले सरकारले जसले लामो समयदेखि योजनाबद्ध ढंगले त्यो पाथीभरा क्षेत्रलाई व्यापारीको हातमा दिनका लागि योजना ढंगले काम गरिरहेको बताए ।
रास्वपाकी तोसिमा कार्कीले केबलकार निर्माण तत्काल स्थगित गरी स्थानीय बासिन्दा र सरोकारवालाहरूसँग छलफल गरी निकास निकाल्न आग्रह गरेकी छिन् । उनले पाथीभरामा देखिएको विवादले सरकारको अभिभावकत्व गुमेको बताइन् । उनले नागरिकमाथि लाठी प्रहार गरेर, गोली चलाएर र मारेर गरिने विकासलाई विकास भन्न नसकिने बताइन् ।
त्यस्तै माओवादी केन्द्रका सांसद रामकुमार राईले पाथीभरा क्षेत्रमा देखिएको विवादको समाधान वार्ताका माध्यमबाट गर्न आग्रह गरेका छन् ।
‘नो केबलकार’ पक्ष र प्रहरीबीच शनिबार साँझ फुङलिङ बजारको वीरेन्द्र चोकमा झडप भएपछि स्थानीय प्रशासनले ताप्लेजुङमा निषेधाज्ञा जारी गरेको छ । जिल्ला सुरक्षा समितिको बैठकले आज बिहान ५ बजेबाट लागू हुनेगरी फुङलिङको बजार क्षेत्र र काफ्लेपाटीको बल्लुडाँडा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।