काठमाडौं । नेपाली सेनाका विभिन्न विभाग, महानिर्देशनालय, निर्देशनालयका प्रमुखहरूका साथै पृतनापतिहरूको समन्वयात्मक वैठक शुरू भएको छ ।
बिहीबारबाट शुरू दुई दिने पृतनापति समन्वयात्मक बैठकलाई सम्बोधन गर्दै प्रमुख अतिथि रक्षा मन्त्री मानवीर राईले राष्ट्र सेवाप्रति अविचलित समर्पणका क्रममा प्रदर्शन भएको दक्षताबाट नेपाली सेना, नेपाली जनताको आस्था र भरोसाको धरोहरको रूपमा स्थापित भएको बताए ।
रक्षा मन्त्री राईले विश्वको बदलिँदो भू–राजनीतिक परिवेश, ध्रुवीकरणले हालको अन्तर्राष्ट्रिय परिवेश तथा विभिन्न स्थानहरूमा चलिरहेको द्वन्द्वहरूले हाम्रो देशमा पनि कुनै न कुनै रूपमा प्रभाव पार्ने बताउँदै जलवायु परिवर्तनबाट सिर्जित चुनौतीहरू, प्रविधि लगायत कृत्रिम बौद्धिकताले निम्त्याउन सक्ने चुनौतीहरूलाई समेत सूक्ष्म रूपमा अध्ययन गर्नुपर्ने उल्लेख गरेका छन् ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै प्रधान सेनापति अशोक राज सिग्देलले नेपालको संविधानले निर्दिष्ट गरेका जिम्मेवारी तथा राष्ट्रिय सुरक्षा नीतिले औँल्याएका अन्तर्निहित कार्यहरू सम्पादन गर्न नेपाली सेना सदैव प्रतिबद्ध रहेको बताए । उनले हालको विश्व सुरक्षा परिस्थिति बहु आयामिक दृष्टिकोणले थप संवेदनशील, जटिल र अन्योलपूर्ण बन्दै गइरहेको अवस्थामा आन्तरिक र बाह्य परिस्थितिमा आउन सक्ने उतार–चढावले नयाँ प्रकृतिका सुरक्षा चुनौतीहरू सृजना हुने सम्भावना रहेको बताएका छन् ।
प्रधान सेनापति सिग्देलले भविष्यका सुरक्षा चुनौतीहरूलाई सामना गर्न विभिन्न रणनीति तथा समन्वय प्रणालीलाई समयानुकूल विश्लेषण गरी प्रभावकारी उपायहरू पहिल्याउन सम्मेलन सहयोगी सिद्ध हुने विश्वास व्यक्त गरेका छन् ।
नियमित अर्धवार्षिक रूपमा सञ्चालन हुने उक्त बैठकको दौरान सहभागीहरूले आ–आफ्नो जिम्मेवारी क्षेत्रको वस्तुस्थिति, सम्पादन गरेका कार्यहरूको समीक्षा एवं सुझावहरू प्रस्तुत गर्नु हुने कार्यक्रम रहेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
उद्घाटन कार्यक्रममा बलाधिकृत, बलाध्यक्ष, रथीवृन्द, निमित्त रक्षा सचिव एवं रक्षा मन्त्रालय र नेपाली सेनाका अधिकृतहरूको उपस्थिति छ ।