काठमाडौं । भारतको कलिंगा इन्स्टिच्यूट अफ् इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले नेपाली छात्रा स्वर्गीय प्रकृति लम्सालको नाममा छात्रवृत्ति दिने घोषणा गरेको छ ।
युनिभर्सिटीले छात्रावासमा ज्यान गुमाएकी लम्सालको नाममा नेपाली विद्यार्थीका लागि छात्रवृत्ति दिने निर्णय गरिएको जानकारी दिँदै सामाजिक सञ्जाल एक्समार्फत भनेको छ ‘यो कदमले प्रकृति जस्ता थुप्रै होनाहार विद्यार्थीहरुलाई कुनै बाधाविना शिक्षा अघि बढाउन सहयोग पुग्नेछ ।’
युनिभर्सिटीका सञ्चालक प्रा. अच्युदानन्द सामन्तले नयाँ दिल्लीस्थित नेपाली दूतावासका कन्सुलर सञ्जीव शर्मा दास र नविन अधिकारीसँग भेटमा प्रकृतिलाई न्याय दिलाउने विषयमा छलफल भएको भनिएको छ ।
आफूमाथि सोही कलेजमा अध्ययरत छात्र आड्भिक श्रीवास्तवले मानसिक यातना दिइरहेको भन्दै अन्तर्राष्ट्रिय सम्बन्ध विभाग (आईआरओ) मा दुई पटक निवेदन दिँदा पनि कलेजले गम्भीरता देखाएको थिएन । आइतबार अपराह्न प्रकृति होस्टलको कोठामा मृत अवस्थामा फेला परिन् ।
श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ । प्रकृतिको साथी श्रीवास्तवलाई आत्महत्या दुरूत्साहनको कसुरमा पक्राउ गरेको भुवनेश्वरस्थित प्रहरी कमिसनरको सचिवालयले जनाएको छ ।
श्रीवास्तवलाई हिरासतमा राखेर अनुसन्धान थालिसकेको प्रहरीको भनाइ छ । साथै प्रहरीले अनुसन्धानका लागि श्रीवास्तवको मोबाइल, मृतक प्रकृतिको मोबाइल र ल्यापटप बरामद गरेको छ ।
२० वर्षीय लम्सालको मृत्यु भएपछि त्यहाँ रहेका नेपाली विद्यार्थीहरुले उनको न्यायको माग गर्दै प्रदर्शन थालेका थिए । युनिभर्सिटी प्रशासनले प्रदर्शन गरेका विद्यार्थीहरुमाथि उल्टै दमन गरेको थियो ।
न्यायको माग गर्ने विद्यार्थीहरुलाई कलेजका सुरक्षागार्ड र बाउन्सरहरुले कुटपिट गरेर लखेटेपछि कम्तिमा १११ जना नेपाली विद्यार्थीहरु स्वदेश फर्किएका छन् । उनीहरुको फिर्ता आउन भन्दै युनिभर्सिटीले अभिभावकलाई समेत इमेल लेखेको बताइएको छ ।
नेपाल सरकार, भारतस्थित नेपाली दूतावासको कूटनीतिक प्रयासपछि हाल सो कलेजमा रहेका नेपालीहरुको अवस्था सामान्य रहेको बताइएको छ । कलेजले नेपाली विद्यार्थीमाथि दुव्र्यवहार गर्ने सुरक्षा गार्डलाई वर्खास्त गरिसकेको छ भने अन्य तीन जनालाई निलम्वन गरेर छानविन गरिरहेको बताइएको छ । त्यहाँको प्रदेश सरकारले सो घटनाको छानविन गर्न एक समिति समेत बनाइसकेको छ ।