काठमाडौं । उर्जा, जलस्रोत तथा सिचाईँमन्त्री दीपक खड्काले नेपाल विद्युत प्राधिकारणका कार्यकारी निर्देशक कुलमान घिसिङको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन् । मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै मन्त्री खड्काले आफू र आफ्नो मन्त्रालयमाथि उठेका प्रश्नहरुको जवाफ दिँदै कुलमानले सञ्चालक समितिको निर्णय कार्यान्वयन नगरेको र सरकारलाई नटेरेको आरोप लगाएका छन् ।
मन्त्री खड्काले भने ‘अहिले एमडीका कारणले लोडसेडिङ नभएर यहाँ उत्पात भएजस्तो मान्नुहुन्छ । तत्कालीन अवस्था आजभन्दा ८ वर्षअघि नेपालमा लोडसेडिङ हुन नदिनका लागि साढे चार सय मेगावाटको आवश्यकता रहेछ । साढे चार सय मेगावाट भारतबाट ल्याइयो । भारतबाट ल्याउनका लागि ट्रान्मिसन लाइन बन्नुपर्थ्यो होला नि ? त्यो ट्रान्समिसन लाइन कसका कारणले बनेको हो ? अनी उहाँ चाहीँ उत्पात देउता हुनुभयो ? अचम्म लाग्छ ! केही राम्रो काम गर्नुभयो होला ? त्यसका लागि विश्लेषण गरेर उहाँलाई धन्यवाद, पुरस्कार के दिनुपर्छ, दिउँला । तर, सञ्चालक समिति निर्णय गर्छ, उहाँ कार्यान्वयन गर्नुहुन्न, सरकारलाई टेर्नुहुन्न । सय प्रतिशत लगानी सरकारको छ । भाषण गर्दै हिँड्नुहुन्छ कर्मचारी ।’
मन्त्री खड्काले कुलमानको अराजक गतिविधिमाथि सरकार सधैं हेरेर बस्न नसक्ने र लगाम लाग्ने चेतावनी दिएका छन् । ।
लोडसेडिङ अन्त्य गरेको भनेर कुलमानलाई उत्पात देवत्वकरण गरेको देख्दा आफूलाई अचम्म लागेको वताउँदै मन्त्री खड्काले एउटा कर्मचारीको पक्षमा प्रतिपक्षी दलहरुले यतिधेरै प्रश्न उठाउनुको कारण आफूले बुझ्न नसकेको बताए ।
त्यस्तै डेडिकेटेड ट्रंक लाइन विवाद ८/८ वर्षसम्म किन समाधान नगरेको भन्दै मन्त्री खड्काले प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) तर्फ प्रश्न तेर्स्याएका छन् । लाल आयोगको प्रतिवेदनसमेत तत्कालीन सरकारले लुकाएर राखेको वताउँदै मन्त्री खड्काले कसैले कसैलाई छुट दिन आवश्यक नरहेको बताएका छन् । उनले बिलको आधारमा निश्पक्ष रुपमा उद्योगहरुबाट बक्यौता तिराइने स्पष्ट पारेका छन् ।