काठमाडौँ । परराष्ट्रमन्त्री आरजु राणा देउवाले भारतको ओडिसास्थित कालिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी)को होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्युको घटना र त्यहाँ रहेका नेपाली विद्यार्थीहरुको अवस्था बुझ्न नेपाल प्रहरीका दुई अधिकृत आज विहानै पुगेको जानकारी दिएकी छिन् ।
सो घटनाको न्यायका लागि निरन्तर कूटनीतिक पहल गरिरहेको बताउँदै परराष्ट्रमन्त्री राणाले घटनालाई लिएर विश्वविद्यालयमा असुरक्षामा रहेका अन्य नेपाली विद्यार्थीको अवस्था बुझ्ने काम भारतमा रहेको नेपाली दूतावासमार्फत भइसकेको बताएकी छिन् ।
सामाजिक सञ्जाल एक्समा परराष्ट्रमन्त्री राणाले लेखकी छिन् – “भारतको ओडिसास्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु र त्यसपछि विकसित परिस्थितिलाई हामीले निरन्तर रुपमा फलोअप गरिरहेका छौँ । नेपाली विद्यार्थीको अवस्था बुझ्न र त्यहाँ रहेका नेपाली विद्यार्थीलाई कलेजमा सुरक्षाको वातावरण मिलाउने सन्दर्भमा नेपाली राजदूताबास नयाँ दिल्लीबाट नेपाल प्रहरीका दुइजना बरिष्ठ अधिकारी आज बिहानै विश्वविद्यालय पुग्नुभएको छ । मैले उहाँहरूसँग फोनमा कुरा गरी घटनाको आवश्यक अनुसन्धानका लागि भारतीय सुरक्षाकर्मीसँग समन्वय गर्न तथा नेपाली विद्यार्थीलाई आवश्यक सहयोग र होस्टलमा सुरक्षित रूपमा रहनका लागि विश्वविद्यालय प्रशासनसँग समन्वय गर्न निर्देशन दिएकी छु । यस विषयमा नेपाली दूतावास दिल्लीले आवश्यक पहल गरिरहेकै छ । हिजोको कूटनीतिक प्रयासपछि कलेजले विद्यार्थीहरूलाई होस्टेलमा फर्कन अपिल गरिसकेको छ भने नेपाली विद्यार्थीलाई दुर्व्यवहार गर्ने स्टाफलाई कारबाही गरिसकिएको जानकारी पनि विश्वविद्यालयले सार्वजनिक सूचना मार्फत गराएको छ । यस विषयमा परराष्ट्र मन्त्रालय र नेपाली राजदूतावास दिल्लीले विश्वविद्यालय प्रशासन र भारतीय सुरक्षा अधिकारीको सम्पर्कमा रहेर आवश्यक समन्वयका साथ काम गरिरहेका छन् ।”
आइतरबार ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी थिइन् ।
लम्साललाई सोही युनिभर्सिटीमा अध्ययनरत अड्विक श्रीवास्तव नामक युवकले मानिसक यातना दिने गरेका थिए । त्यसबारे युनिभर्सिटी प्रशासनलाई निवेदन दिँदा समेत कुनै कारबाही भएको थिएन ।
यस्तोमा लम्सालको मृत्युपछि यो मामलामा गम्भीर जाँच गर्न माग गर्दै विद्यार्थीले प्रदर्शन गरेका थिए । तर, सोमबार युनिभर्सिटी प्रशासनले विद्यार्थीको प्रदर्शनलाई दबाउन लाठी चार्ज गरेको थियो । होस्टलबाट नेपाली विद्यार्थीलाई बाहिर निकालेको थियो ।
प्रकृति लम्सालको मृत्यु प्रकरणमा पक्राउ परेका अड्विक श्रीवास्तवको मोबाइल प्रहरीले जफत गरेको छ । लम्साललाई आत्महत्या गर्न उक्साहट गरेको आरोपमा पक्राउ परेका उनलाई अनुसन्धानका लागि न्यायिक हिरासतमा राखिएको भुवनेश्वर प्रहरीले जनाएको छ