काठमाडौँ । नेपाली विद्यार्थी प्रकृति लम्साल मृत फेला परेको घटनामा भारतको ओडिसास्थित कलिङ इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले २ सुरक्षा गार्डलाई बर्खास्त र ३ कर्मचारीलाई निलम्बन गरेको छ ।
केआईआईटीद्वारा मंगलबार जारी विज्ञप्तिमा प्रकृतिको मृत्यु र त्यसपछि उत्पन्न घटनापछि तत्काल दुई सुरक्षाकर्मी कर्मचारीलाई बर्खास्त गरिएको र दुई जना वरिष्ठ छात्रावास अधिकारी तथा एकजना अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालय (आईआरओ) का वरिष्ठ प्रशासनिक अधिकारीलाई घटनाको अनुसन्धान नटुंगिँदासम्मका लागि निलम्बन गरिएको जनाइएको छ ।
केआईआईटीमा बी–टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । त्यसपछि न्याय माग्दै त्यहाँ पढ्ने नेपाली विद्यार्थी विरोध प्रदर्शनमा उत्रिएपछि त्यहाँका सुरक्षा गार्डलगायतले नेपाली विद्यार्थीहरुलाई होस्टलबाट कुट्दै निकालेका छन् ।