काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययनरत बुटवलकी छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणबारे सत्यतथ्य छानबिन गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
आज बसेको सभाको आकस्मिक समयमा बोल्दै सांसदहरूले लम्सालको मृत्यु प्रकरणबारे गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि अध्यक्ष दाहालले लम्सालको रहस्यमय मृत्युले सभाको गम्भीर ध्यानाकर्षण भएको भन्दै सत्यतथ्य छानबिन गरी उचित न्याय प्रदान गर्न गम्भीर रूपमा यथाशीघ्र गम्भीर कूटनीतिक पहल थाल्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
दाहालले उक्त कलेजमा अध्ययनरत विद्यार्थीलाई अध्ययनका लागि सहज वातावरण बनाउन पहल गर्नसमेत आग्रह गरेका छन् ।
राष्ट्रियसभा वैठकमा सांसदहरु राधेश्याम पासवान, कृष्णबहादुर रोकाय, मदनकुमारी शाह गरिमा, मोहम्मद खालिद, तुलप्रसाद विश्वकर्मा, तुलसाकुमारी दाहाललगायतले लम्सालको पार्थिक शरीर आफन्तलाई हेर्न नदिनु अन्याय भएको भन्दै लम्सालको न्यायका लागि आवाज उठाउँदा कलेज प्रशासनले दमन गरेको भन्दै आपत्ति जनाएका छन् ।
सोही कलेजमा अध्ययनरत विद्यार्थी अड्विक श्रीवास्तवले पटकपटक दिइरहेको मानसिक यातनाबारे प्रमाणसहित कलेज प्रशासनमा पेस गर्दा पनि सुनुवाइ नहुँदा लम्सालले आत्महत्या गर्नुपरेको बताउँदै सांसदहरुले नेपाल सरकारले कूटनीतिक पहल गरेर लम्सालको न्यायका लागि र अलपत्रमा परेका विद्यार्थीहरुको उद्धारको माग गरेका छन् ।
केआईआईटीमा बी-टेक तेस्रो वर्षमा पढ्ने नेपाली छात्रा प्रकृति लम्साल आइतबार साँझ होस्टेलमा शंकास्पद अवस्थामा मृत भेटिएकी थिइन् । त्यसपछि न्याय माग्दै विरोध प्रदर्शनमा उत्रिएका नेपाली विद्यार्थीलाई त्यहाँको प्रशासनले दमन गरेको खबर आएको छ ।