काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ओडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एक नेपाली छात्राको मृत्यु भएको विषय र अन्य विद्यार्थीलाई निकाला गरेको घटनामा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमार्फत भनेका छन् “भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयको होस्टेलमा एकजना नेपाली छात्राको मृत्यु भएको र नेपाली विद्यार्थीलाई होस्टेलबाट जबर्जस्ती निकालेको कुरा मिडिया र सामाजिक सञ्जाल मार्फत जानकारीमा आएको छ । यस विषयमा सरकारले कुटनीतिक तवरले बुझ्दै सम्पर्कमा रहेर काम गरिरहेको छ।’
केआईआईटी विश्वविद्यालयमा तेस्रो वर्षमा अध्ययनरत नेपाली छात्रा प्रकृति लम्सालले होस्टलमा आत्महत्या गरेको विषयमा नेपाली विद्यार्थीहरूले उजुरी दिएपछि घटनाले उग्ररुप लिएको हो । आत्महत्या गरेकी लम्साल विश्वविद्यालयकै अर्का विद्यार्थीको प्रेम सम्बन्धमा रहेको पाइएको र आत्महत्याको कारण स्पष्ट नभए पनि, प्रेमसम्बन्धमा आएको खटपाट हुन सक्ने अनुमान गरिएको एएनआईले उल्लेख गरेको छ ।
छात्राको मृत्युलाई लिएर नेपाली विद्यार्थीहरूले विश्वविद्यालयको जवाफ माग गर्दा उल्टै निकालिदिएको भिडियो सार्वजनिक भएको छ ।
यसैवीच नेपाली विद्यार्थी लम्सालको ‘आत्महत्या’मा जोडिएर एक युवा पक्राउ परेका छन् । भारतीय मिडिया संवादका अनुसार अदभिक श्रीवास्तव पक्राउ परेका छन् ।
हालसालै सार्वजनिक भएको एक अडिओमा श्रीवास्तवले प्रकृतिलाई धम्क्याएको र सो अडिओ भाइरल भएको पनि संवादले उल्लेख गरेको छ । प्रकृतिले केआइआइटीको अन्तर्राष्ट्रिय सम्बन्ध कार्यालयमा श्रीवास्तवको बारेमा उजुरी पनि दिएको तर कुनै सुनुवाइ नभएको विद्यार्थीहरूले गुनासो गरेका छन् ।
संवादसँग कुरा गरेको भारतीय प्रहरीले मृतकको परिवारलाई जानकारी दिइएको, शंकास्पद व्यक्ति पक्राउ गरिएको र के कारणले मृत्यु भएको हो भन्नेमा अनुसन्धान भइरहेको जनाएको छ ।