काठमाडौं । सरकारमा सहभागी राजनीतिक दलका शीर्ष नेताहरूको आज प्रधानमन्त्री निवासमा सम्पन्न बैठकमा हालै जारी अध्यादेशहरू सङ्घीय संसद्का दुवै सदनबाट यथाशीघ्र अनुमोदन गर्ने सहमति भएको छ ।
चाँडोभन्दा चाँडो अध्यादेश पारित गराउन प्रक्रियागत काम अविलम्ब अगाडि बढाउन बैठकमा सहमति भएको गृहमन्त्री रमेश लेखकले बताए । “आज हाम्राबीच भएका सहमतिअनुसार अध्यादेश अगाडि बढ्छ । सकारात्मक रूपमा यो विषय टुङ्गोमा पुग्छ”, बैठकपछि उनले भने ।
उनले जनता समाजवादी पार्टी नेपाल(जसपा)का नेताहरूसँग पनि सहमति जुटेको जानकारी दिए । सबै अध्यादेश प्रतिस्थापन गर्नुपर्ने भएकाले दलहरुबीचको छलफलपछि सबैको भावना समेटेर प्रक्रिया प्रारम्भ हुने उनको ठम्याई छ ।
बैठकमा सरकार र संसद्का कामको प्रभावकारिताका बारेमा पनि छलफल भएको थियो । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका अध्यक्ष अशोककुमार राई, लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ र जनमत पार्टीका उपाध्यक्ष अब्दुुल खानलगायत नेताहरू सहभागी थिए ।