काठमाडौं । नेपाली काँग्रेसका प्रवक्ता एवं सांसद डा. प्रकाशशरण महतले पार्टीको महाधिवेशन तोकिएको समयमा नहुने बताएका छन् ।
शनिवार चितवनमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले समयमै अधिवेशन नहुने कुरा त्यसको तयारी र अवस्थाले देखाइरहेको पनि स्पष्ट पारे । उनले पार्टीको अधिवेशन ४ वर्षमै हुनुपर्छ भन्ने नरहेको र डेढ वर्षसम्म थप्न मिल्नेकुरा विधानमा रहेको उल्लेख गरे । तर कति थपिन्छ वा थपिँदैन भन्नेकुरा केन्द्रिय समितिको बैठकले गर्ने उनी बताउँछन् ।
उनले नेतृत्वको दौडका लागि आजकै मितिदेखि दौड लगाउनुपर्ने पक्षमा आफू नरहेको बताए । अहिले पार्टीलाई निर्माण गर्न, एकअर्कालाई स्वीकार गर्नेकुरामा दौड लगाउनु उचित हुने उनको भनाइ छ । उनले पार्टी नेतृत्वका लागि अरु भन्दा कमजोर आफू नरहेको पनि स्पष्ट पारे ।
सांसद महतले सरकारले ल्याएको विधेयकमा भूमि सम्बन्धी विधेयकबारे मात्रै प्रतिपक्ष दलहरुले आपत्ति जनाएको भन्दै त्यसलाई सरकारले प्रतिष्थापन विधेयकमार्फत समाधान गर्न सकिने बताए ।