काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले ल्याएको अध्यादेशहरू छिटै पारित हुने बताएका छन् । सत्तारुढ दलहरूको बैठकपछि बोल्दै उनले फागुन ६ गते बस्ने राष्ट्रिय सभाको बैठकबाट अध्यादेशको प्रक्रिया अघि बढाइने बताए ।
उनले सरकारले जारी गरेको अध्यादेशहरू संघीय संसदको दुवै सदनका दर्ता भइसकेको र सत्ता पक्षीय दलहरुबीच पारित गर्ने सहमति बनेको उल्लेख गरे ।
उनले अब छिटै नै अध्यादेश पास हुने प्रक्रिया अघि बढ्ने र सत्तामा रहेका सबै राजनीतिक दलहरू सहमत रहेको बताए । उनले भूमिसम्बन्धी अध्यादेशमा प्रतिस्थापन गर्दा सबै राजनीतिक दलहरुबीच छलफल गरेर सबैका भावना समेटिने गरी अघि बढ्ने बताए ।
सत्तारुढ दलहरुबीच सरकारले ल्याएको अध्यादेशहरू पारित गर्ने बारेमा शनिवार छलफल भएको हो । छलफल सकारात्मक रहेको र अध्यादेश छिटै स्वीकृत हुने उनको भनाइ छ ।
गृहमन्त्री लेखकले संविधान संशोधनको विषयमा छलफल अघि बढाउने गरी कार्यदल बनाउन सहमत भइसकेको बताए । संविधान संशोधन सबै राजनीतिक दलहरूसँग संवाद, सहकार्य गरेर अघि बढ्ने उनी बताउँछन् ।