विराटनगर । विराटनगर महानगरपालिका–३ पिपल चोकनजिक पूजा इन्टरनेसनल नेपाल प्रालिले सञ्चालन गरेको फोक्स बगान कम्पनीको शोरुमबाट बिहीबार मध्यरातमा गाडी चोरेर भाग्दाभाग्दै पेट्रोल सकिएपछि गाडी सँगै चोर पनि पक्राउ परेका छन् ।
शोरुमको सिसा फुटाएर भित्र पसेको चोरले त्यही घर्रामा रहेको चाविले गाडी स्ट्राट गरेर लिएर जान्छन् । गाडी हराएको कुरा शोरुम सञ्चालकले शुक्रबार बिहान मात्रै थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए ।
गाडी चोरी भएको खबर पाएसँगै प्रहरीले गाडी र चोरको खोजी तथा अनुसन्धानका क्रममा दिउँसो सुनसरीको गढी गाउँपालिका– ५ को भित्री सडक खण्डमा शंकास्पद अवस्थामा गाडी रहेको खबर पाउँछ ।
प्रहरीले शोरुमबाट हराएको बा ०१३० च ८५८१ नम्बरको नयाँ गाडी र चोरीमा संलग्न गढी गाउँपालिका–४ घर भई विराटनगर–४ मा बस्दै आएका २४ वर्षीय मन्तोषकुमार बिनलाई पक्राउ गरेको छ ।
प्रहरीका अनुसार मन्तोषले शोरुमबाट चोरी गरेको ८० लाख रुपैयाँ मूल्य पर्ने गाडी भारततर्फ लैजान खोजेका थिए तर, पेट्रोल सकिए पछि उनको योजना असफल भएको हो ।