काठमाडौँ । बाराको कलैया १ स्थित नवजन्म सुधार केन्द्रमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । गएराति सुधार केन्द्रभित्र भएको विवादमा सञ्चालकसहितले कुटपिट गर्दा सुधार केन्द्रमा राखिएका कलैया–९, रामपुरका ३२ वर्षीय धीरेन्द्र महतोको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
महतोको मृत्यु भएपछि सुधारकेन्द्रका सञ्चालकसहित ७ जनालाई प्रहरीले तत्काल पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा सर्फराज मन्सुरी, निरज सराफ, मो आँसु मिया शेख, अरुण सरार्फ, पर्मेश्वर साह, तमन्ना अलि र सागर गुप्ता रहेका छन् ।
कुटपिटबाट गम्भीर घाइते भएका महतोलाई राति नै उपचारका लाागि सुरुमा कलैयासिटी अस्पतालमा लगेका थिए । त्यसपछि प्रादेशिक अस्पताल लगेका थिए । तर अस्पताल पुर्याउँदा २/३ घण्टा पहिले नै मृत्यु भइसकेको चिकित्सकहरुले बताएका छन् ।
शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल कलैयामा राखिएको प्रहरीले जनाएको छ ।

























