काठमाडौं । रुपन्देहीको सुप्रिम सहकारी ठगी मुद्दामा छविलाल जोशीलाई थुनामा पठाउने जिल्ला अदालत रुपेन्देहीको आदेशको कैफियत प्रतिवेदन माग भएको छ ।
उच्च अदालत तुलसीपुरको बुटवल इजलासका न्यायाधीश राजेश्वर तिवारीको इजलासले बुधबार सुनुवाइ गर्दै कैफियत प्रतिवेदन झिकाउन आदेश दिएको हो ।
आफूलाई थुनामा पठाउने जिल्ला अदालतको आदेश बदर गर्न माग गर्दै जोशीले बुधबार छोरा रोचक मार्फत उच्च अदालतमा निवेदन दिएका थिए । निवेदनमा जिल्लाको आदेश बदर गरी आफूलाई थुनाबाहिरै राखेर मुद्दाको पुर्पक्ष गर्न माग गरिएको थियो ।
सोमबार जिल्ला अदालत रुपेन्देहीका न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले जोशीलाई थुनामा पठाउन आदेश दिएको थियो । सोही सहकरी ठगी मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापित रवि लामिछानेलाई भने एक करोड धरौटीमा रिहा गर्न आदेश भएको थियो । जोशी उपाध्यक्ष र लामिछाने प्रवन्ध निर्देशक रहेको गोर्खा मिडियामा सुप्रिम सहकारीको रकम लगेर अपचलन गरेको आरोप छ ।