काठमाडौं । प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडालाई बोल्न दिएकोप्रति आपत्ति जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रले आपत्ति जनाउँदै बैठक अवरोध गरेपछि सभामुखले वैठक १५ मिनेटका लागि स्थगित गरेका हुन ।
आकस्मिक र शून्य समय सकिएपछि कुन प्रक्रियाअन्तर्गत समय दिइएको हो ? भन्दै रास्वपा सांसद गणेश पराजुलीले आपत्ति जनाउँदै सांसद खतिवडाले बोलेको अभिव्यक्ति रेकर्डबाटै हटाउनुपर्ने माग गरेका थिए । सांसद खतिवडाले रवि लामिछाने गृहमन्त्री हुँदा प्रहरीमा बेथिती भित्र्याएको,१६ महिना जुनियरलाई बढुवा गरेको,मोलतोल गरेर सरुवा भएकोजस्ता आरोप लगाएका थिए । त्यस्तै उनले ‘आईजीलाई समितिमा बोलाएर निर्दोष छ भन्देन भनेर कानेखुसी गरेको पनि सुन्यौं । कल्ले सदुपयोग गर्यो, कल्ले दुरुयोग गर्यो ? हामीले हेर्नुपर्ने बेला भएको छ ।’ भनेका थिए ।
उपसभामुख इन्दिरा राना मगरले आकस्मिक समय दिन बिर्सिएकाले खतिवडालाई बोल्न दिइएको स्पष्टीकरण दिएपनि माओवादी र रास्वपा सांसदहरूले अवरोध गरिरहेका पछि वैठक स्थगित भएको हो ।