काठमाडौं । नेपाल पत्रकार महासंघ बझाङ शाखाका अध्यक्ष ललितबहादुर सिंहमाथि चक्कु प्रहार गरेर घाइते बनाउनलाई तत्काल कडा कारवाही गर्न पत्रकार महासंघले माग गरेको छ ।
सोमबार राति १० बजे बझाङको जयपृथ्वी नगरपालिका–१० स्थित चैनपुरमा रहेको देवीस्थान होटेलमा खाना खाएर कोठा फर्कने पत्रकार सिंहमाथि चक्क प्रहार भएको थियो ।
खाना खाएर कोठा फर्कने क्रममा आफूलाई बोलाएर केही कुरा गर्नु छ भन्दै मस्टा गाउँपालिका–४का विनोद कठायतको समूहले होटलमै चक्क प्रहार गरेको पत्रकार सिंहले बताएका छन् ।
नेपाल पत्रकार महासंघले विज्ञप्ति जारी गर्दै पत्रकार सिंहमाथि भएको सांघातिक आक्रमणप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका महासचिव रामप्रसाद दाहालले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘‘जुनसुकै बहानामा भए पनि यो आक्रमणलाई महासंघले अत्यन्त निन्दनीय र प्रेस स्वतन्त्रतामाथिको जघन्य अपराधको रुपमा लिएको छ। पत्रकारलाई पेशाप्रति हतोत्साहित र त्रसित बनाउने यो घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाहीका लागि महासंघ सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ ।’
साथै पत्रकारको सुरक्षामा गम्भीर हुन र यस्ता घटना नियन्त्रणमा कडा कदम चाल्न पनि पत्रकार महासंघले माग गरेको छ । पत्रकार सिंहमाथि कुटपिटको घटनामा संलग्न रहेको आरोपमा ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।