काठमाडौं । ताप्लेजुङस्थित पाथीभरामा निर्माणाधीन केबलकारविरुद्ध आन्दोलनरत पक्षले पुनः आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । माघ २२ गते भएको नेपाल सरकारका सहसचिवस्तरीय वार्ताबाट ६ बुँदे सहमति भए पनि कार्यान्वयनमा सरकार इमान्दार नहुँदा समस्या समाधान नभएको भन्दै उनीहरुले थप आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।
‘नो केबलकार समूह’ ले फागुन ६ गतेदेखि ८ गतेसम्म ‘मुक्कुमलुङ बचाऔं पदयात्रा’ गर्ने, केबलकार अनुमति तथा सम्झौता खारेजीका लागि फुङलिङ नगरपालिका घेराउ, काठमाडौं, इटहरी र विर्तामोडमा केबलकार विरोध सभा गर्नेलगायत आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
२२ गते भएको वार्ताअनुसार माघ २७ गते दुवै पक्षबीच विस्तृत वार्ता गर्ने सहमति भएको थियो । तर सहमति बमोजिम उनीहरु मन्त्री वा उच्चस्तरीय टोलीसँग मात्रै वार्ता गर्ने भन्दै हिँडेपछि छलफल भाँडिएको थियो ।
उनीहरुले माग अनुसार सरकारले वार्ता टोली गठन नगरेपछि थप संघर्षका कार्यक्रम ल्याउनुपरेको बताएका छन् ।