काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारले ल्याएको अध्यादेश राष्ट्रिय सभाबाट पारित नहुने ठोकुवा गरेका छन् ।
सोमबार जनकपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले जनता समाजवादी पार्टी (जसपा) नेपालले अध्यादेशमा समर्थन गर्न नहुने तर्क गरेका छन । प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषयमा आएको अध्यादेश गलत रहेको वताउँदै उनले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवलाई अध्यादेशलाई समर्थन नगर्न आग्रह पनि गरेका छन् ।
विधि, प्रक्रियासम्बन्धी विषयमा अहिलेसम्म जसपा नेपालका नेताहरु अडिएको बताउँदै प्रचण्डले आफ्नो मुद्दा छोडेर सरकारको निम्ति अध्यादेशमा समर्थन गर्नुहुन्छ जस्तो आफूलाई नलागेको बताएका छन् ।
प्रचण्डले भने ‘सदनमा अध्यादेश प्रस्तुत भएका छन्, तर ती रोकिएर बसेका छन् । तपाईँहरुले राष्ट्रिय सभाको स्थिति बुझिराख्नु भएकै होला । त्यहाँ अहिले अगाडि बढ्न सकिराखेको स्थिति छैन । सरकारले सदन बोलाउनुपर्ने बेलामा गलत नियतले अध्यादेश ल्यायो । प्रक्रियाको दृष्टिकोणले पनि र कतिपय सारको दृष्टिकोणले पनि भूमिसम्बन्धी विषय जसरी ल्याइएको छ, त्यसको उद्देश्य गलत देखिएको छ । त्यो कुराको बारेमा सदनमा पनि मैले प्रष्ट भनेको छु, हाम्रो दलको तर्फबाट र बाहिर पनि ।’
वर्तमान सरकार जनताको पक्षमा, राष्ट्रको पक्षमा र सुशासनको पक्षमा काम गर्न नबनेको दावी गर्दै प्रचण्डले भ्रष्टाचारको विरुद्ध तत्कालीन सरकारले चलाएको अभियानलाई रोक्नका वर्तमान सरकार बनेको पुरानै आरोप दोहोर्याए ।