काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ठूला खरिद प्रक्रियामा भएको भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचार मुक्त समाज निर्माण गर्न सरकारको ध्यानाकर्षण गराउनु भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४ औं वार्षिकोत्सव समारोहलाई आज सम्बोधन गर्दै राष्ट्रपति पौडेलले आगामी दिनमा आयोगले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनमा अझै प्रभावकारी ढंगले काम गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।
स्वच्छ पारदर्शी समाज निर्माणमा सबैको योगदान हुनुपर्ने बताउँदै राष्ट्रपति पौडेलले भ्रष्टाचार सम्बन्धी उजुरी र मुद्दाहरु लामो समयदेखि किनारा नलागेको गुनासो आइरहेको भन्दै त्यसलाई छिटो टुंगोमा पु¥याउनुपर्ने बताउनु भएको छ ।
राष्ट्रपति पौडेलले सुशासन र पारदर्शिता बिना लोकतन्त्रको प्रतिफल जनताको घरदैलोमा पुर्याउन नसकिने बताउँदै नागरिकको जीवनस्तरमा गुणात्मक सुधार गरी जनताको विकास र सुशासनप्रतिको उच्च आकंक्षालाई पूरा गर्नुपर्ने धारणा पनि राख्नु भएको छ ।
देशको हित, कल्याण र अन्तर्राष्ट्रिय छविको लागि सदाचार, निष्पक्षता, पारदर्शिता, एवं निर्भिकतालाई मूल मन्त्र बनाएर काम गर्नुपर्ने उहाँको सुझाव छ ।
नीति, पद्धति, विधि र प्रवृत्तिगत सुधारका प्रयासलाई प्रभावकारी बनाएर अनुशासन, सदाचार प्रणालीको विकास गर्नु आजको आवश्यकता भएको उहाँले औल्याउनु भएको छ ।
सत्ता, शक्तिको अनावश्यक मोहले प्रक्रिया, पद्धति र प्रणालीको दुरुपयोग गरी मानिसलाई भ्रष्टाचारतर्फ प्रवेश गराउने उहाँले बताउनु भएको छ ।
भ्रष्टाचारको प्रकृति र स्वरुप परिवर्तन भइरहेको भन्दै त्यसैअनुसारको अनुसन्धान र अभियोजन प्रक्रिया अवलम्बन गर्न आवश्यक रहेको राष्ट्रपति पौडेलले बताउनु भएको छ ।
कार्यक्रममा राष्ट्रपति पौडेलले उत्कृष्ट अनुसन्धानकर्ताको रुपमा उपसचिव विष्णुराज बेल्बासे र प्रहरी नायब उपरीक्षक कमल कुमार खड्का सम्मानित गर्नु भएको छ । यसैगरी नापी अधिकृत रुबिना शाही उत्कृष्ट अख्तियार सेवा पुरस्कारबाट सम्मानित भएकी छिन् ।
कार्यक्रममा राष्ट्रपति पौडेलले विभिन्न पत्रकार एवं लेखकहरुलाई पनि कदरपत्रसहित सम्मान गर्नु भएको छ ।