काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलको उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएका छन् ।
आइबार साँझ ५ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने बैठकमा सरकारले हालै जारी गरेका ६ वटा अध्यादेशमा देखिएको गतिरोध लगायत विषयमा छलफल हुने बताइएको छ ।
कांग्रेस–एमाले गठबन्धन सरकारलाई सफल पार्न भन्दै गत कात्तिक १५ गते एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवासहितको उच्चस्तरीय राजनीतिक संयन्त्र बनाइएको थियो ।
राष्ट्रियसभामा निर्णायक अवस्थामा रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले प्रयास गरिरहेको छ । जसपा अध्यादेशका पक्षमा आउन ढिलाइ भइरहेकाले संघीय संसदका दुवै सदनमा अध्यादेश निर्णयार्थ पेस गर्न ढिलाइ भइरहेको छ ।
सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो । प्रतिनिधिसभामा विपक्षीहरुले अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन् ।