काठमाडौं । नेपाली बजारमा चर्चित ब्रान्डका चिसो पेय पदार्थ पेप्सी, माउन्टेन ड्यु र प्रशोधित पानीलगायत उत्पादन तथा बिक्री वितरण गर्दै आइरहेको बरुण बेभरेज (नेपाल) प्रालिले पश्चिम नवलपरासीस्थित उद्योगमा २ मेगावाटको सोलार पावर प्लान्ट जडान गरेको छ ।
रामग्राम नगरपालिका–१० स्थित उद्योगलाई चाहिने विद्युत् आफैं उत्पादन गर्ने उद्देश्यसहित जडान गरी सञ्चालनमा आएको सोलार पावर प्लान्टको उद्घाटन शुक्रबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका छन् ।
सो अवसरमा मन्त्री भण्डारीले सरकारले लगानीका लागि निजी क्षेत्रलाई प्रोत्साहित गरिरहेको बताउँदै लगानी प्रवर्द्धनका लागि थुप्रै ऐनहरू संशोधन गरेको बताए । लगानीकर्ताहरुलई नेपालमा मायाले होइन, लगानी गर्नुस् मुनाफा लैजानुहोस् भनेको मन्त्री भण्डारीले बताए ।
नवीकरणीय सौर्य ऊर्जाले वातावरण संरक्षण र आत्मनिर्भर औद्योगिक विकासका लागि महत्त्वपूर्ण योगदान गर्ने बताउँदै मन्त्री भण्डारीले बरुण बेभरेजले नेपालमा वाह्य लगानी प्रोत्साहन गर्दै राष्ट्रिय अर्थतन्त्रमा योगदान पुर्याएको बताए ।
११ करोड रुपैयाँ लगानीमा जडान गरिएको सोलार प्लान्टबाट उत्पादित उर्जाले उद्योगलाई चाहिने धेरै विद्युत्को माग पूरा गर्ने सो प्रालिका फाइनान्स हेड सञ्जीव अरोराले जानकारी दिए । प्लान्ट वातावरणमैत्री, बहुउपयोगी रहेको उनले बताए ।
त्यस्तै उद्योगका महाप्रबन्धक रवीन्द्र पाण्डेले शून्य कार्वन अभियान अन्तर्गत उद्योगले सोलार प्लान्ट जडान गरेको बताउँदै भने ‘हामीले विस्तारै आफूलाई आवश्यक पर्ने विद्युत पुर्याउने लक्ष्य सहित प्लान्ट जडान गरिएको हो । शून्य कार्वन उत्सर्जन लक्ष्य सहित दिगो उर्जा विकासमा उद्योग केन्द्रित छ ।’
सौर्य ऊर्जा विद्युतबाट कार्बन उत्सर्जन शून्य हुने भएका कारण कम्पनीले यसलाई प्रवर्द्धन र विस्तार गर्ने बरुण बेभरेज केन्द्रीय कार्यालय भारतका प्रतिनिधि एसएन भट्टले बताए ।
१७ विगाहा क्षेत्रफलमा फैलिएको उद्योगमा ४०० जना कामदारले रोजगारी पाएका छन् । मल्टीनेसनल कम्पनी वरुणले वरुणले काठमाडौंको पेप्सीकोला र नवलपरासीबाट गरी दुई ठाउँबाट पेप्सी, माउन्टेन ड्यू, मिरिन्डा लगायतका चिसो पेय पदार्थ उत्पादन गर्दै आएका छन् ।
बरुणले काठमाडौंको उद्योगबाट वार्षिक ८ अर्ब र परासीको उद्योगबाट ५ अर्ब गरी १३ अर्ब रूपैयाँको कारोबार गर्दै आइरहेको बताइएको छ ।
उद्योगका जनरल मेनेजर (जीएम) मुकेश कुमारले उपभोक्ताको माग अनुसार आफ्ना उत्पादन सबै क्षेत्रमा पुर्याउन बजार विस्तारमा जोड दिइरहेको बताए । विशेष गरेर छिमेकी मुलुक भारतमा बरुण बेभरेजले ठूलो बजार हिस्सा ओगटेको उनले बताए ।
नेपालमा प्रत्यक्ष रूपमा हजारौं तथा अप्रत्यक्ष रूपमा दशौं हजारलाई रोजगारी दिएको कम्पनीले गुणस्तरीय उत्पादनमा जोड दिँदै आएको छ ।