काठमाडौं । नेकपा एकीकृत समाजवादीले सर्लाहीमा अन्तरजातीय विवाह गर्ने सत्यन्द्र कुमार राम (चमार) र नेहा रौनियारमाथि प्रहरीले यातना दिएको भन्दै गृहमन्त्री रमेश लेखक र नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरमाथि छानबिन हुनुपर्ने माग गरेको छ ।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै नेकपा एसका सांसद प्रकाश ज्वालाले गृहमन्त्री र आईजीपीमाथि छानबिन हुनुपर्ने र दोषीलाई कारबाही हुनुपर्ने माग राखेका हुन ।
वैठकमा ज्वालाले भने ‘सत्यन्द्र राम र नेहा रौनियारको विवाहलाई सर्वोच्चले वैद्यता दिएको छ । तर, उक्त दम्पतीलाई मुम्बईबाट समेत पक्राउ गरेर ल्याएर यातना दिनका लागि अत्याचार गर्नका लागि निर्देशन दिने गृहमन्त्री, आईजीपी लगायतलाई छानबिन गरी दोषीलाई कडाभन्दा कडा कारबाही गरियोस् भन्ने माग गर्दछु ।’
बिहीबारको संसद् बैठकदेखि यो विषयमाथि चर्को बहस भइरहेको छ । सत्ता र प्रतिपक्ष दुवैतर्फका सांसदहरूले एक स्वरमा यस घटनाबारे सरकारको ध्यानाकर्षण गराएका थिए ।
सत्यन्द्र कुमार र नेहा विवाह गरी गत मंसिर २१ गते भारत घुम्न गएका थिए । उक्त जोडीलाई पक्राउ पुर्जी जारी गरी प्रहरी पठाएर सरकारले नै पक्राउ गरेको सांसदहरुको आरोप छ । गम्भीर अपराधीलाई पक्रन मात्रै प्रहरीलाई विदेश पठाउने गरिएको सांसदहरुले बताएका छन् ।
बिहीबारको संसदमा सांसदहरुको चासोको सम्वोधन गर्दै गृहमन्त्री लेखकले घटनाबारे नेपाल प्रहरीलाई सबै तथ्य सार्वजनिक गर्न दिएको निर्देशनअनुसार प्रहरीबाट विवरण सार्वजनिक भएको बताए । यो घटनामा आफूलाई जोडिएकोमा गृहमन्त्री लेखकको असन्तुष्टि व्यक्त गर्दै अन्तरजातीय विवाहलाई प्रोत्साहन गर्ने सरकारको नीतिप्रति विगतदेखि प्रतिवद्ध रहेको र भविष्यमा समेत यसमा अडिग रहने प्रतिवद्धता जनाएका छन् ।
संसद्मा उठेपछि यो विषयलाई झन गम्भीर रुपमा लिएको भन्दै गृहमन्त्री लेखकले त्रुटि देखिए छानबिन गर्न तयार रहेको प्रतिवद्धता जनाउँदै नेहा र सत्येन्द्रको पूर्ण सुरक्षाको प्रत्याभूति हुने स्पष्ट गरेका थिए ।