काठमाडौँ । सिन्धुलीमा आज बिहान भएको गाडी दुर्घटनामा ज्यान गुमाउने र घाइते सबैको परिचय खुलेको छ । झापाबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ९६४२ नम्बरको गाडी सिन्धुलीको गोलञ्जोर गाउँपालिका–५ स्थित बीपी राजमार्गमा आज बिहान पौने पाँचबजे दुर्घटनामा परेको थियो ।
गाडी सडकबाट झण्डै चारसय मिटर तल खसेर दुर्घटना हुँदा एक युवकको घटनास्थलमै मृत्यु भएको छ भने अन्य पाँचजना घाइते भएका छन् । ईभी गाडी दुर्घटना हुँदा दोलखाको गौरीशंकर घर भएका २८ वर्षीय सुशान्त नेपालीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएके छ ।
दुर्घटनामा घाइते हुनेहरुमा इलामको देउमाई– ८ का ५३ वर्षीय सनबाहादुर तामाङ, मोरङको लेटाङ– २ की ३४ वर्षीया देवी लिम्बू, काठमाडौँको कागेश्वरी मनोहरा( ५ की २८ वर्षीया श्वेता गिरी, सोही ठाउँमा २८ वर्षीय सञ्जय रोका र झापाको बारादशी– १ का २७ वर्षीय तिस्कु मण्डल रहेका छन् ।
दुर्घटनामा परेको गाडीमा चालक को थिए भन्ने खुलेको छैन । घाइते सबैको अहिले जिल्ला अस्पताल सिन्धुलीमा उपचार भइरहेको छ । गम्भीर घाइतेलाई उपचारको लागि काठमाडौँ पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।