काठमाडौँ । प्रमुख प्रतिपक्षी दलका नेता एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले संसद् अधिवेशनबाट भागेर षड्यन्त्रपूर्ण तरिकाले एकपछि अर्का अध्यादेश ल्याएको आरोप लगाएका छन् ।
बिहीबार प्रतिनिधिसभा वैठकमा सम्वोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले भने –“पछिल्ला पैँतीस वर्षमा नेपाली कांग्रेसले बाह्रपटक प्रधानमन्त्री चलाएछ, नेकपा एमालेले सात पटक । पैँतीस वर्ष शासन गरेपछि आज आएर देशको विकास ६ दिन ढिलो हुने भयो भनेर ल्याउनुभयो त अध्यादेश ? उखान छ नि, सौ चुहा खाके बिल्ली हज के लिए चली । तपाईँहरू पनि अब विकासको हाजी हुनुभएको हो ?’
चोर बाटोबाट अध्यादेश ल्याउनु सरकारको नियत सही नभएको बताउँदै दाहालले संसद्मा दुईतिहाईको घमण्ड गर्ने सरकारले शासनचाहिँ अध्यादेशबाट चलाउने ? भन्ने प्रश्न गरेका छन् । उनले सार्वभौम संसद्को अपमान र अवहेलना नगर्न चेतावनी दिएका छन् ।
संसद्मा विचाराधीन विधेयक फिर्ता समेत नलिई किन ल्याइयो अध्यादेश ? भन्ने प्रश्न गर्दै दाहालले सरकार र संसद्ले चाहँदा फास्ट ट्रयाकबाट विषयगत समिति, प्रतिनिधिसभा र राष्ट्रियसभाबाट १० दिनमै पनि विधेयक पारित गर्न सकिने तर प्रतिस्थापन विधेयकले ६० दिनको लामो प्रक्रिया पार गर्नुपर्ने स्मरण गराएका छन् ।
राजनीतिक प्रतिशोध र त्यसका लागि राज्यको दुरुपयोग सामान्य हुन थालेको वताउँदै दाहालले अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रित र संकुचित गर्न खोजिएको आरोप लगाउका छन् ।
पाथीभरा केबलकारका विवादमा जनतामाथि गोली चलाइएकोमा आपत्ति जनाउँदै उनले पाथीभरा र मुक्लुङको विवादको संवेदनशीलता बुझेर संवाद र समझदारीबाट समाधान खोज्नुपर्नेमा दमनको उल्टो बाटो हिडेको बताए ।
सामाजिक सञ्जाल नियमन विधेयक ल्याएर अभिव्यक्ति र प्रेस स्वतन्त्रतालाई वैधानिक रुपमै नियन्त्रण गर्न खोज्नु निरंकुश सोच भएको दावी गर्दै दाहालले सत्तारुढ दललाई मालिक र नागरिकलाई दास नठान्न चेतावनी दिएका छन् ।
























