काठमाडौं । संघीय संसद्मा सरकारले ल्याएका ६ वटा अध्यादेशहरू आज निर्णयार्थ प्रस्तुत नहुने भएका छन् । राष्ट्रियसभामा निर्णायक रहेको जनता समाजवादी पार्टी, नेपालसँग सहमतिको लागि सरकारले समय मागेको भन्दै प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको कार्यव्यवस्था परामर्श समितिको बैठकले अध्यादेश निर्णयार्थ पेस गर्ने सूचीबाट हटाएका छन् ।
अध्यादेश निर्णयार्थ पेस नगर्न कानुनमन्त्री अजयकुमार चौरसियाले सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायण प्रसाद दाहाललाई आग्रह गरेका थिए । सरकारले माघ १८ गते दुवै सदनमा ६ वटा अध्यादेश पेस गरेको थियो। प्रतिनिधिसभामा अध्यादेश अस्वीकृतको ५० बढी प्रस्ताव दर्ता गरेका छन् ।
अध्यादेशका स्वीकार गर्न लागि प्रतिनिधि सभामा कांग्रेस र एमालेको मात्रै पनि बहुमत पुगे पनि राष्ट्रियसभामा जसपा नेपालका तीन सांसद निर्णायक देखिएका छन् ।
सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीले जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँग अध्यादेशको पक्षमा उभिन निरन्तर छलफल गरिरहेका छन् । जसपा नेपालले पनि अध्यादेश अध्ययन गर्न नेता राजकिशोर यादवको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको थियो । कार्यदलले अध्यक्ष यादवलाई बिहीबार बिहान प्रतिवेदन बुझाइसकेको छ । तर जसपाले निर्णय गरिनसकेका कारण आज अध्यादेश निर्णायर्थ पेश नगरिएको हो ।